शैल्यशिखर नगरपालिका–२ भएर बग्ने नौगाड खोलाबाट विद्युत निकाल्ने कार्य सम्पन्न भएको पाँच वर्ष वितिसक्दा समेत सो क्षेत्रका स्थानीय विद्युत सेवा पाउनबाट वञ्चित भएका छन् ।
नौगाड खोलाबाट १६.५ र ३० मेगावटका दुई ओटा जलविद्युत परियोजना सम्पन्न गरी ०७४ माघ २७ गते तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले शैल्यशिखर वरिपरिका बस्तीमा तत्कालै विद्युत वितरण गरिने उद्घोष गर्नु भएको भए पनि यहाँका नागरिकले पाँच वर्ष बढि वित्दा समेत गाउँमा विद्युत सेवा उपभोग गर्न नपाएका हुन् ।
०७० सालमै गाउँमा बिजुली बाल्ने सपना रहेको भएपनि नगरपालिकाकै वडा नम्बर १ शिखर र वडा नम्बर २ भएर बग्ने नौगाड खोलाबाट उत्पादन गरेको विद्युत उपभोग गर्न नपाएको स्थानीय केशवराज भट्टले गुनासो गर्र्नु भयो ।
गाउँको बीचभाग भएर नौगाड खोला बगेको छ । घरमाथि भएर १ सय ३२ केभि र ११ केभिका बत्तिका प्रसारण लाइन गएका छन् । तर, बत्तिनिस्किएका ठाउँ वरिपरिका दर्जनबस्ती अझै अन्धकारमा बाँच्न विवस छन् ।
शैल्यशिखर नगरपालिका वडा नम्बर २ को तौकी, थाम, पारुली, कालीपातल, मल्लीथाम, गोइलाडी, मल्ली छोला, सुकेखोला लगायतका बस्तीमा अहिले पनि बिजुली छैन् । वडा नम्बर २ का ४ सय ४ घरधुरी मध्ये आधामा अझै बत्ति पुगेको छैन् ।
उहाँले भन्नु भयो– ‘बत्ति नहुँदा बालबालिकाको पठनपाठन मै समस्या हुने गरेको स्थानीय जया लोहारले गुनसो गर्नु भयो । घर वरिपरि बत्ति निकालिएको छ । तर, हामीले अझै बत्ति पाएका छैनौँ । बत्ति नहुँदा छोराछोरीलाई टुकी र सोर्य उर्जाबाट पढाउन परेको छ ।’
यहाँ उत्पादन गरिएको बत्तिले सुदूरपश्चिम झिलमिलि भएको छ । तर, यहाँका बस्तीमा अहिले मात्रै केही ठाउँमा विद्युतका पोलहरु पुगेका छन् । नौगाड र चमेलियाबाट उत्पादन भएको विजुली राष्ट्रिय प्रशारण लाइनमा जोेडिएको छ । शिखरमा रहेको विद्युत गृहबाट यसै वर्ष १० मेगावट मकरिगाड हाइड्रोपावर र ४० मेगावट अपर चमेलियाबाट उत्पादन हुने विद्युत थप हुँदैछ । तर, पनि यस क्षेत्रका स्थानीयहरुले अन्धकारमा जिवन विताउन बाध्य छन् ।
बत्ति जडान गर्न भन्दै निर्माण व्यवसायीले श्रमदान मै पोल बोक्न लगाए पनि वषौ वितिसक्दा समेत विजुलीबत्ती बाल्ल नपाएको स्थानीय जयदेव जोशीले गुनासो गर्नु भयो ।
उहाँले भन्नु भयो– ‘स्थानीय पोल र विजुलीका तार आफैले बोकेर ल्याएका छन् । तर, गाडिएका पोलहरु पनि राम्रो छैन् । धेरै ठाउँमा पोलहरु ढल्न थालेका छन् ।’ २ सय मिटरका दुरीमा एक पोल राखिएका छन् । हावालागे आफै ढल्ने अवस्थामा पुगेका छन् । पोलहरु बङ्गिएका भएका छन् । पोल ढलेर उल्टै चोट लाग्ने भन्ने डर छ ।’
बत्तिनहुँदा अहिले पनि स्थानीयले टुकी र सोलारको भरमा बस्नुपरेको स्थानीय प्रताप ओडले बताउनु भयो । ‘पटकपटक गाउँमाबत्तिको लागि पहल गरे पनि ठेकेदारले समेत ढिलाई गर्यो’उहाँले भन्नु भयो । खोला सुकाएर बत्तिनिकालियो तर हामीलाई नै बत्ति अहिलेसम्म दिइएको छैन् । केटोकेटीको परीक्षाको बेला समस्या हुने गरेको छ ।
अहिले वार्षिक परीक्षा चलेको छ । तर, केटाकेटीले राति पढ्न पाएका छैनन् । बालबालिकाको भविष्य अन्धकार भएको छ । बत्ति निकालेको पाँच वर्ष हुँदा पनि हामीले बत्ति नपाउँदा दाउँराको भरमा बस्नुपरेको उहाँको गुनासो छ ।
यति मात्र हैन नौगाड खोलामा विगतमा थुप्रै माछा पाइन्थे स्थानीय अम्बादत्त भट्टले भन्नुभयो, अहिले बत्ति निकालेपछि खोलामा पानी कम भयो । माछा हराए । यही खोलामा उत्पादन हुने माछा अहिले पाउनै छोडेको छ । खोलामा पानी कम हुँदै गएपछि माछा विक्री गरेर जिविका चलाउनेहरु समेत समस्यामा परेको उहाँले सुनाउनु भयो ।
अहिले देथला क्षेत्रमा पन्त निर्माण सेवा र इन्द्र धनुसले विद्युतीकरणको जिम्मा पाएको छ । दुई वर्ष अघि ठेक्का भए पनि निर्माण सामाग्री उपलब्ध हुन नसक्दा ढिलाई भएको नेपाल विद्युत प्राधिकरण दार्चुला वितरण केन्द्रका कार्यालय प्रमुख आनन्द सापकोटाले बताउनु भयो । पुरानो ठेक्का भए पनि अहिले निर्माण व्यवसायीले काम गरिरहेको छ । सबै बस्तीको लागि चाहिने पोल, टान्सर्फमर र तार सम्बन्धित ठाउँमा ढुवानी भएको उहाँले बताउनु भयो ।
हुने परिवारले सोलार बालेका छन् । अहिले पनि अधिकांश टुकी, र बजारमा पाइने टर्चबालेर उज्यालो बनाउन बाध्य छन् । सक्नेले मात्रै उज्यालो बाल्छन्, स्थानीय हिरा ओडले भन्नु भयो, ‘गरिबको घरमा अहिले पनि टुक्की बाल्न सकेका छैनौ ।’ हरेक पटक चुनाव आउँछ, बत्ति बाल्छौ भनेर नेता भाषण गर्छन् । ०७९ को चुनावमा पनि एमालेबाट उम्मेदवार बनेका नरेन्द्रबहादुर पालले आफ्नो प्राथमिकता विद्युतीकरण भएको बताएका थिए ।
विद्युतीकरण हुन नसकेका गाउँमा तत्काल विद्युतीकरण गर्न माग गर्दै पटकपटक विद्युत प्राधिकरण, दार्चुलालाई निवेदन दिएको स्थानीय मुकेश पालले बताउनु भयो ।
उहाँले भन्नु भयो– ‘हामीले दार्चुला वितरण केन्द्र लगायत सम्बन्धित सरोकारवाला निकायहरुलाई ज्ञापन बुझाउने र बोदार्थ दिने गरेका छौँ । यस्तै लापार्वाही हुने हो भने एकसता भित्र बलाँचस्थित विद्युत गृहबन्द गर्छौ । पावर हाउँस नै चल्न नदिने गरी तयारी भइरहेको छ । सडक अवरुद्ध गछौँ । यति गरेपछि मात्रै सरकारले पीडितको आवाज सुन्छ होला ।’
निर्माण व्यवसायी भानुभक्त जोशी अहिले आफ्नो ठेक्का भएको क्षेत्रमा काम अन्तिम चरणमा पुगेको बताउनु भयो । पहिले विद्युत प्राधिकरणबाटै समयमै सामान उपलब्ध गराउन नसक्दा ढिलाई भएको भए पनि अहिले विद्युतीकरणको काम चलिरहेकोले स्थानीयबासीले छिट्टै बिजुली बाल्न पाउने उहाँले बताउनु भयो ।
शैल्यशिखर नगरपालिका–२ का वडाध्यक्ष नरेन्द्रबहादुर पालले विद्युतीकरण हुनबाँकी सबै बस्तीमा आफ्नो कार्यकाल भित्रै विद्युतीकरणको काम सक्ने बताउनु भयो । ‘विजुली पुर्याउनको लागि मैले पहल थालेको छु,’ उहाँले भन्नु भयो, ‘मेरो प्राथमिकता अनुसार बत्ति बाल्नका लागि ठेकेदारलाई ताकेता गरेको छु ।’
नेपाल विद्युत प्राधिकरण, दार्चुला वितरण केन्द्रका कार्यालय प्रमुख आनन्द सापकोटाले आफू जिल्ला आएपछि पोलको व्यवस्थापन भइरहेकोले विद्युतीकरण हुन नसकेको क्षेत्रमा काम भइरहेको बताउनु भयो ।