INSEC Online

📅 २०८३ जेष्ठ २१

जातीय विभेद गरेको आरोपमा वडा अध्यक्ष विरुद्ध प्रहरीमा उजुरी

चंखेली गाउँपालिका–२ का वडाध्यक्ष ४४ वर्षीय विर्षबहादुर सिंहले सोही गाउँपालिका–२ की २५ वर्षीया सन्जिता परियारलाई जातीय विभेद गरेको आरोपमा पीडित पक्षले जिल्ला प्रहरी कार्यालय हुम्लामा उजुरी दिनुभएको छ ।

गत फागुन महिनादेखि पीडित घरपरिवारले चंखेली गाउँपालिका–२ को सार्वजनिक भवनमा खुद्रा पसल गरेकै स्थानमा चैत १२ गते वडाध्यक्ष सिंह आएर आफ्नी पत्नीलाई कुटपिट गर्दै जातीय लान्छाना डुमुनी भन्दै धम्की दिएको आरोपमा पीडितका पति हंशराज परियारले चैत १३ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी गर्नु भएको छ ।

उहाँले आफनी पत्नीलाई अध्यक्ष सिंहले मदिरा सेवन गरि जातीय विभेद र कुटपिट गरेको आरोप लगाउँदै इन्सेकलाई पनि चैत १३ गते न्यायको पहलका लागि अनुरोध गर्नु भएको छ । हाल पसल गरेको सार्वजनिक भवनमा बस्न नमिल्ने भन्दै आफ्नी पत्नीको हात समातेर लगाएको कपडा च्याती, कुटपिट गरि घर निकाला गरेको परियारले आरोप लगाउनु भएको छ ।

उक्त घटनाका विषयमा इन्सेक प्रतिनिधिले वडाध्यक्ष सिंह संग बुझ्दा सञ्जिताले फोहोरी वडाध्यक्ष भनेपछि आफुले पनि फोहोरी डुमुनी भनेकै हो भनेर स्वीकार गर्नु भएको छ । तर कुटपिट र हातपात भने मैले नगरेको भन्दै दावी गर्नु भएको छ ।

पीडितको अनुरोधमा इन्सेक प्रतिनिधिले सोही दिन जिल्ला प्रशासन कार्यालय हुँदै जिल्ला प्रहरी कार्यालयसम्म पीडितले न्याय पाउनु पर्ने माग राख्नु भएको छ । घटनाका विषयमा, वडाध्यक्ष र उजुरीवाला दुवै पक्षलाई बोलाएर छलफल गर्ने डिएसपी भिमलाल भट्टराइले बताउनु भएको छ ।

अन्य

भिडियो