INSEC Online

📅 २०८३ जेष्ठ २१

८२ वर्षको उमेरमा पनि छैन् नागरिकता

सल्यानमा ८२ वर्षिया एक जेष्ठ नागरिक ले अझै नागरिकता पाउनु भएको छैन् । शारदा नगरपालिका– १ शान्तिनगर निवासी ८२ वर्षिया पुनी नेपालीले नागरिकता अझै नपाउनु भएको हो । नागरिकता नहुदाँ उहाँले सरकारबाट पाउने सामाजिक सुरक्षाभत्ता लगायत सरकारी सेवासुविधाबाट समेत बञ्चित हुनुभएको छ ।

१६ वर्ष उमेर पुगेपछि नागरिकता पाउने हरेक नेपाली नागरिकको नैसर्गिक अधिकार हो । तर उहाँले अझै नागरिकता पाउनुभएको छैन् । उहाँका पति डब्बले वादीसँग २०५५ सालमा बनाएको नागरिकता छ । तर पुनीले अझै नागरिकता पाउनुभएको छैन् । नागरिकता नहुँदा सरकारी सेवासुविधा पाउनबाट आमा बञ्चित भएको छोरी गिता नेपालीले जानकारी दिनुभयो ।

‘म जन्मिएको २ महिनापछि बुवा कालापार जानुभएछ, तर ३०/३५ वर्षसम्म पनि उहाँ घर फर्कनु भएन, मेरै नागरिकता बनाउन समेत समस्या भएको थियो, बुवा घर हुनु भएन, आमाको नागरिकता थिएन्,’ छोरी गिताले भन्नुभयो ‘बुवा अहिले घर फर्किसक्नु भएको छ, तर आमाको नागरिकता भने अझै बन्न सकेको छैन् ।’

अहिले बुढेसकाल लागेर आमा बोल्न र हिडडुल गर्नसक्ने अवस्थामा नरहेको छोरी गिताको भनाइ छ । ‘आमाको नागरिकता बनाउनको लागि सिफारिस लिन वडा कार्यालयमा दुई पटक गए, वडा कार्यालयले कि विवाह दर्ता, कि जन्मदर्ता खोज्छ, त्यो बेला जन्मदर्ता हुदैन्थ्यो, विवाह दर्ता गर्ने बुवा घर हुनुभएन्’ उहाँले भन्नुभयो ‘आमाले अझै नागरिकता पाउनुभएको छैन् ।’

मादल बनाउने र माछा मारेर जीवन निर्वाह गर्दै आएको यस परिवारले अहिले गिट्टी कुटेर र बालुवा चालेर दैनिकी चलाउदैँ आएको छ । ‘आमाको उमेर ८२ पुगिसक्यो, तर अझै नागरिकता छैन्, यदी नागरिकता भएको भए, सामाजिक सुरक्षाभत्ता वाफत आएको रुपियाँले नै बुढेसकालमा मिठोमसिनो खाने हुन्थ्यो होला’ छोरी गिताले भन्नुभयो । आमाको माइतीघर डाँडाकटेरी भएको थाहा पाएपनि माइतीपक्षका आफन्त कोही नहुदाँ समस्या भएको उहाँको भनाइ छ ।

शारदा नगरपालिका–१ का वडा अध्यक्ष प्रदिप कुमार पाण्डेले नागरिकता पाउनबाट कोही पनि नागरिक छुट्न नहुने भएकाले त्यो विषयमा आफुले सहजीकरण गर्ने बताउनु भएको छ । ‘यस बारेमा अहिलेसम्म मलाई थाहा थिएन्, हाम्रै वडाको नागरिक नेपाली नागरिकता पाउनबाट छुट्नु हुदैन्, वडा कार्यालयमा आउनुभयो भने, नागरिकता वनाउनको लागि प्रमुख जिल्ला अधिकारीसँग समन्वय गरेर प्रक्रिया अगाडी बढाउँछु’ उहाँले भन्नुभयो ।

सहायक प्रमुख जिल्ला अधिकारी थमन खड्काले नागरिकता बनाउनको लागि वडा कार्यालयको सिफारिसका आधारमा मात्रै नागरिकता बताउन सकिने बताउनुभएको छ । उहाँले नागरिकता लिने व्यक्तिको जन्ममिति र जन्मस्थान प्रमाणित नहुँदा समस्या हुने बताउनु भयो । माइतीपक्षको पहिचान भए नागरिकताका लागि थप सहजीकरण गर्न सक्ने उहाँको भनाइ छ ।

Photo20230327Salyan

अन्य

भिडियो