INSEC Online

📅 २०८३ जेष्ठ २१

घाइते आन्दोलनकारीको उपचारका क्रममा मृत्यु

तेहृथुमको म्याङलुङ नगरपालिका–९ जिरीखिम्ती स्थायी घर भई सुनसरीको धरानमा बस्दै आएका ४२ वर्षीय लाजेहाङ लिम्बू (पदम लिम्बू) को उपचारका क्रममा चैत १० गते मृत्यु भएको प्रदेश न.१ पुन: नामाङ्कन संयुक्त सङ्घर्ष समितिले चैत १० गते विज्ञप्ति जारी गरी जनाएको छ ।

कोशी प्रदेश नामाकरणको विरोधमा ०७९ चैत ५ गते विराटनगरमा आयोजित आन्दोलनको कार्यक्रममा प्रहरीको कुटपिटबाट घाइते हुनु भएका लाजेहाङको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान घोपामा उपचारका क्रममा मृत्यु भएको सङ्घर्ष समितिद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।

सङ्घीय लोकतान्त्रि राष्ट्रिय मञ्च– सङ्घीय लिम्बूवान कमाण्डर लाजेहाङको उपचारका क्रममा मृत्यु भएको किरात याक्थुङ चुम्लुङ अध्यक्ष प्रेम एक्तेनले बताउनु भयो ।

चैत ५ गते विराटनगरमा भएको आन्दोलनका क्रममा प्रहरीको लाठीचार्जबाट घाइते लिम्बूको उपचारका क्रममा मृत्यु भएको आदिवासी जनजाति महासङ्घ अध्यक्ष ग्याल्जे शेर्पाले बताउनु भयो ।

सङ्घर्ष समितिद्धारा चैत १० गते जारी विज्ञप्तिमा सरकारले लिम्बूको हत्या गरेको आरोप लगाइएको छ ।

चैत १० गते बिहान प्रदेश न.१ पुन: नामाङ्कन संयुक्त सङ्घर्ष समितिको बैठक वसिरहेका कारण शवको पोष्टमार्टम कहिले गर्ने वा पोष्टमार्टम तत्काल नगरेर सरकारलाई दबाव दिने वा नदिने विषयमा छलफल भइरहेको नामाङ्कन सङ्घर्ष समिति झापाका सचिवालय प्रमुख दिपेनवाला राईले इन्सेककर्मीसँग फोन सम्पर्कमा बताउनु भएको छ ।

कोशी प्रदेशसभामा कायम ९३ मध्ये ८२ जना प्रदेशसभा सदस्यहरूको दुई तिहाइले फागुन १७ गते तत्कालीन प्रदेश १, को नामाकरण कोशी प्रदेश गरिएको छ ।

प्रदेशको नामकारण कोशी प्रदेश भनि प्रदेश सरकारले फागुन १८ गते प्रदेश राजपत्रमा सूचना प्रकाशन गरिसकेको छ ।

Photo 2023324 Morang

अन्य

भिडियो