INSEC Online

📅 २०८३ जेष्ठ २२

परिवारजनबाटै महिला असुरक्षित, कर्णालीमा चौध महिनामा नौ जनाको हत्या

लैङ्गिक समानताको बलियो आधार : सिर्जनात्मक प्रविधिमा महिला पहुँचको विस्तार भन्ने मुल नाराका साथ ११३ औं अन्तर्राष्ट्रिय महिला दिवस (८ मार्च) विभिन्न कार्यक्रमका साथ भर्खर सकिएको छ । प्रत्येक वर्ष यो दिवस मनाइएपनि समाजमा महिलामाथि भएका हिंसाका घटना दिनप्रतिदिन बढदै गएका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को अभिलेख अनुसार कर्णाली प्रदेशमा पछिल्लो चौध महिनामा नौ जना महिलाको हत्या भएको छ ।

घटना–१
सुर्खेत जिल्लाको लेकवेशी नपा–९ चौरासेस्थित तिल्कीपानीमा ०७९ कात्तिक २८ गते सोही ठाउँकी ७२ वर्षीया डिल्लीसरा जैसीको हत्या भयो । उहाँ घरपरिवारबाट छुट्टिएर एक्लै बस्दै आउनुभएको थियो । डिल्लीसराको टाउकोमा चोट लागेको र उहाँलाई बिहान सोही ठाउँका स्थानीयले बजारमा दुध पु¥याएर घर फर्किने क्रममा बाटोमा मृत अवस्थामा देखेपछि स्थानीयलाई खबर गरेका थिए । वृद्ध महिला खेतमा रहेको कच्ची घरमा बस्दै आएको र उहाँको शव घरदेखि डेढ किलो मिटर टाढा कात्तिक २९ गते भेटिएको थियो । सोही घटनामा संलग्न रहेको भन्दै प्रहरीले कात्तिक २९ गते सोहीठाउँका ३३ वर्षीय शालिकराम बास्तोलालाई भेरीगंगा नपाको छिन्चुबाट गिरफ्तार गरेको थियो । अदालतको फैसला अनुसार बास्तोला हाल जिल्ला कारागार सुर्खेतमा रहेका छन् ।

घटना–२
यस्तै, ०७९ मङसिर २० गते सुर्खेतको पञ्चपुरी नगरपालिका–३ तोक्माकी मिना आलेको घाटी रेटी विभत्स हत्या भयो । मिनाका पति अम्मरबहादुर आलेले आफुले कमाएको पैसा हिनामिना गरेको आरोपमा पत्नी मिना आलेको हत्या गरेर टाउको बोकेर प्रहरी कार्यालय जादै गर्दा प्रहरीले पञ्चपुरी–२ पलैंटेबाट गिरफ्तार गरेको थियो । आले हाल जिल्ला कारागार सुर्खेतमा पूर्पक्षका लागि रहेका छन् ।

घटना–३
यस्तै, ०७९ फागुन १ गते राति दैलेख जिल्लाको गुराँस गाउँपालिका–८ माथिल्लो गर्चाकी २७ वर्षीया पार्वती बिसीको हत्या भयो । राती कोठामा सुत्न गएको बेला उनका पति २८ वर्षीय कृष्णबहादुर खड्काले हत्या गरेका थिए ।

घरायसी विवादमा ढोका अड्याउन लगाइने गरालोले दाहिने कन्चडमा प्रहार गरेर पार्वतीको हत्या गरेका हुन् । दुई जना बीच ०७९ मङ्सिर २६ गते मागी विवाह भएको थियो । पति बोल्न नसक्ने कान नसुन्ने र पत्नी सुस्त मनस्थितिको भएको कारण के कुराले विवाद सिर्जना भयो अनि हत्या भयो भन्ने नखुलेको मृतकका दाजु केशवकुमार बिसीले बताउनु भयो । दैलेख जिल्ला अस्पतालमा शव पोस्टमार्टम गर्दा मृतकको मुखमा घाँस कोचिएको र दाँत समेत खसेको पाइएको थियो ।

यी घटना प्रतिनिधि मात्र हुन् । यी र यस्ताखालका घटना कर्णाली प्रदेशमा दिनानुदिन बढ्दो क्रममा छन् । अधिकांश महिलाको हत्या घटनामा पुरुषको हात रहेको विभिन्न तथ्याङ्कले प्रष्ट पारेको छ । पछिल्लो चौध महिनामा कर्णालीमा नौ जना महिलाको हत्या भइसकेको इन्सेक कर्णाली प्रदेश कार्यालय, सुर्खेतले जनाएको छ ।

इन्सेक कर्णाली प्रदेशका अनुसार सबैभन्दा धेरै जाजरकोट, सुर्खेत र सल्यानमा दुई/दुई जना महिलाको हत्या भएको छ । दैलेख, जुम्ला र मुगुमा एक/एक जना महिलाको हत्या भएको तथ्याङ्कमा उल्लेख छ ।

कर्णाली प्रदेशमा गत आर्थिक वर्षमा १८ जना महिलाको हत्या भएको प्रहरीले जनाएका छ । प्रदेश प्रहरी कार्यालयको तथ्याङ्क अनुसार गत आर्थिक वर्षमा सबैभन्दा धेरै सुर्खेतमा ६ जना महिलाको हत्या भएको कार्यालयको तथ्याङ्कमा उल्लेख छ । यसैगरी सल्यानमा चारजना महिलाको हत्या भएको छ भने रुकुमपश्चिममा तीनजना महिलाको हत्या भएको छ । यसैगरी जाजरकोटमा दुई जना महिलाको हत्या भएको तथ्याङ्कमा जनाइएको छ । दैलेख, जुम्ला र कालिकोटमा एक/एक जना महिलाको हत्या भएको छ ।

कर्णालीमा महिला हत्याका घटनामा आर्थिक पाटो जोडिएको प्रदेश प्रहरी कार्यालयका प्रवत्ता तथा सूचना अधिकारी माधव श्रेष्ठले बताउनुभयो । भौगोलिक रुपमा विकट रहेको कर्णाली प्रदेशमा धेरै महिला अशिक्षित भएका कारण पनि आर्थिक रुपमा सक्षम नभएकाले महिला माथि हुुने हिंसा तथा हत्याका घटनामा वर्षेनी वृद्धी हुने गरेको उहाँको भनाई छ । अधिकांश पुरुष वैदेशिक रोजगारमा जाने र घर फर्किदा कमाएको पैसा पनि नहुँने र पत्नीपनि परपुरुषसँग अवैध सम्बन्ध राखेको खुल्न आएपछि आवेगमा आएर यस्ता घटना हुने गरेको उहाँको भनाई छ ।

यस्तै, अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले कर्णाली प्रदेशमा सन् २०२२ मा सात जना महिलाको हत्या भएको तथ्याङ्क सार्वजनिक गरेको थियो । त्यसयता थप दुईजना महिलाको हत्या भएको प्रहरीले जनाएको छ ।

इन्सेक कर्णाली प्रदेशकका संयोजक नारायण सुवेदीले कर्णालीमा महिला हत्या गर्ने कार्य गम्भीर मानव अधिकार उल्लङ्घन भएको बताउनु भयो । यस्ता घटनामा संलग्न व्यक्तिलाई हँदै सम्मको कानुनी कारवाही गर्नुपर्नेमा उहाँले जोड दिनुभएको छ । राज्यले जो सुकै नागरिकको सम्मानित रूपमा बाँच्न पाउने हकको सुनिश्चित गर्नुपर्ने संयोजक सुवेदीले बताउनु भयो ।

यस्तै आवाज संस्थाका निर्देशक तथा महिला अधिकारकर्मी पवित्रा शाहीले हत्या गर्न अधिकार कसैलाई नभएको बताउनुभयो । महिला माथि दिनानुदिन दयनीय खालका घटना हुँदै गएको भन्दै यस्ता खालका घटना रोक्नका लागि बनाइएका कानुनको पूर्णरुपमा सबैलाई जानकारी गराउन आवश्यक रहेको निर्देशक शाहीले बताउनुभयो । महिला पनि स्वयम सक्षम हुनुपर्नेमा उहाँले जोड दिनुभयो । महिला आर्थिक रुपमा सक्षम भएमा मात्र महिला माथि हुने विभिन्न खालका हिंसा तथा हत्याका घटनामा कमी आउने शाहीले बताउनुभयो । घर समाज र समुदायबाट महिलालाई सम्मान दिन सकेमा यस्ता खालका घटनामा कमी आउन सक्ने उहाँको आँकलन छ ।

मानव अधिकारको सर्वमान्य सिद्धान्त अनुसार सबैै नागरिक भयरहित वातावरणमा बाँच्न पाउने अवस्थाको सुनिश्चितता नभएसम्म त्यस राज्यमा मानव अधिकारको अवस्था सकारात्मक रह्यो भनेर भन्न सक्ने ठाउँ रहँदैन ।

इन्सेकले गरेको अभिलेखअनुसार सन् २०२२ मा देशभर मानव अधिकार उल्लङ्घन र ज्यादतीका घटनामा ७ हजार ३ सय ७६ जना पीडित भएकोमा कर्णाली प्रदेशमा ४ सय ९६ जना पीडित भए । कर्णाली प्रदेशमा पीडित भएकामध्ये मानव अधिकार उल्लङ्घनका घटनामा ४ महिला र २९ जना पुरुष गरी ३३ जना तथा ज्यादतीका घटनामा ३ सय २८ महिला र १ सय ३५ जना पुरुष गरी ४ सय ६३ जना पीडित भए । कर्णाली प्रदेशमा सन् २०२१ मा मानव अधिकार उल्लङ्घन र ज्यादतीका घटनामा ४ सय ३० जना पीडित भएका थिए । त्यसमध्ये मानव अधिकार उल्लङ्घनका घटनामा ४ महिला र ३० जना पुरुष गरी ३४ जना तथा ज्यादतीका घटनामा ३ सय २० महिला र ७६ जना पुरुष गरी ३ सय ९६ जना पीडित भएका थिए ।

परिवारजनबाट महिला मारिएका केही घटनामा पीडितपक्षले हत्याको आरोप लगाएका छन भने आरोपित पक्षले आत्महत्या गरेको बताउने गरेका छन । परिवारजनबाट महिलामाथि हुने घरेलु हिंसाका उजुरी हरेक वर्ष बढ्ने गरेको छ । कतिपय बेला परिवारजनबाट महिलामाथि हुने घटनालाई परिवारमै गुपचुप राख्ने वा गाउँ समाजमै मिलाइन्छ । धेरैजसो घटनामा महिलाकै दोष देखाएर आरोपितलाई उन्मुक्ति दिने कार्य पनि भइरहेका छन् ।

अझै पनि घरेलु हिंसाबाट महिलामाथि हुने शारीरिक तथा मानसिक आघातलाई संवेदनशीलताका साथ हेर्ने संस्कृतिको निर्माण हुन सकेको छैन । महिलामाथि हुने घरेलु हिंसालाई परम्परागत रूपमा लिइने सोच यथावत् नै रहेको छ ।

कर्णाली प्रदेशका प्रहरी कार्यालयमा रहेका महिला तथा बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्रमा दर्ता भएका अधिकांश घटनामा मिलापत्र हुने गरेका छन । फितलो कानुन र भएकै कानुनको पनि कार्यान्वयन नहुनाले महिलामाथि हुने हिंसाका घटनामा कमी नआएको इन्सेकको आँकलन छ ।

अन्य

भिडियो