१६ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले फालेलुङ गाउँपालिका–७ का ४५ वर्षीय रत्नमान राईलाई १३ वर्ष ६ महिना कैद सजायको फैसला सुनाएको छ ।
जिल्ला अदालतका न्यायाधीश टेकेन्द्र दाहालको ०७९ फागुन १७ गतेको इजलासले कसुर गरेको ठहर गर्दै पीडितले पाउने गरी कसुरदारबाट १ लाख रुपियाँ क्षतिपूर्ति भराउन आदेश भएको अदालतका श्रेस्तेदार विश्वजङ्ग सिञ्जापतिले बताउनु भयो ।
पीडित बालिकालाई आरोपितले ०७७ साउन ९ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरुद्ध साउन १५ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो ।
आरोपितलाई प्रहरीले साउन १५ गते घरबाट गिरफ्तार गरी जिल्ला अदालतमा भदौ २ गते बलात्कार शीर्षकमा मुद्दा दर्ता गरी कारबाही अघि बढाएको थियो ।
जिल्ला अदालतका तत्कालीन न्यायाधीश मोहनराज भट्टराइको भदौ २ गतेको आदेशले आरोपित पुर्पक्षका लागि थुनामा थिए ।
पीडित बालिकाको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा ०७७ साउन १५ गते गरिएको थियो ।