१४ वर्षीया बालिकालाई बलात्कार गरेको कसूरमा डाक्नेश्वरी नगरपालिका–१ मधुबनीका २० वर्षीय ब्रह्मदेव साहलाई फागुन १७ गते १२ वर्ष कैद सजाय भएको छ ।
जिल्ला न्यायाधीश नविनकुमार जोशीको इजलाशले साहलाई १२ वर्ष कैद सजायको फैसला गरेको सूचना अधिकारी भरतमणि पोखरेलले जानकारी दिनुभयो । अदालतको फैसला अनुसार साहले पीडितलाई ५० हजार रुपियाँ क्षतिपूर्ति दिनुपर्नेछ ।
अभियुक्तले पीडितकै घरमा २०७५ असोज १६ गते दिउँसो बलात्कार गरेको भन्दै निजकी आमाले जिल्ला प्रहरी कार्यालयमा ०७५ असोज १७ गते उजुरी दिनुभएको थियो ।
पीडितका बुबा वैदेशिक रोजगारमा रहेको र आमा जितिया पर्व मनाउन गाउँतर्फ गएका बेला घरको धारामा भाँडाबर्तन धोइरहेकी पीडितलाई आरोपितले जबरजस्ती घरभित्र लगी बलात्कार गरेको पीडितले बताउनु भयो । पीडितको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा ०७५ असोज १७ गते स्वास्थ्य परिक्षण भएको थियो ।
आरोपित फरार रहेको अवस्थामा घटनाको १ वर्ष पुग्न थालेपछि २०७६ असोज १० गते जिल्ला अदालतमा अभियोग पत्र दायर भएको थियो । जिल्ला अदालतमा २०७६ चैत ३ गते हाजिर भएका अभियुक्त अदालतको आदेशमा सोही दिलनदेखि पुर्पक्षका लागि राजविराज कारागारमा थुनामा छन् ।