मध्यपुरथिमि नगरपालिकाका उपमेयर एवं नेकपा माओवादी केन्द्र मध्यपुरथिमि नगर समितिका अध्यक्ष विजयकृष्ण श्रेष्ठलाई कारवाहीको माग गर्दै मध्यपुरथिमि नगरपालिकाको कार्यालयमा ०७९ फागुन १५ गते पीडित पक्ष र नेकपा एमालेका नेता तथा कार्यकर्ताले घेराउ गरेका छन् ।
मध्यपुरथिमि नगरपालिका-५ को बाटो बिस्तार कार्य मापदण्ड विपरित अगाडि बढाउँदा रोक्न गएका नेकपा एमाले मध्यपुर नगर कमिटी सचिव सुमन जोशी र अनेरास्ववियु मध्यपुर नगर कमिटी अध्यक्ष विवेक भसिमालाई मध्यपुरथिमि दुई पोखरीमा फागुन १४ गते उपमेयर श्रेष्ठ र स्वकीय सचिव सचिन बज्राचार्यसमेतको समूहले कुटपिट गरि घाइते बनाएको भन्दै फागुन १५ गते कार्यालय घेराउ गरेको हो ।

कुटपिटबाट घाँटी र टाउँकोमा चोट लागेको भासिमा र जोशीको उपचारपछि घर फर्किएको जानकारी दिँदै प्रहरी वृत्त थिमिका डिएसपी रबिन श्रेष्ठले दुवै पक्षलाई बोलाएर छलफल गर्ने भनिए पनि दुवै पक्ष प्रहरी वृत्तमा नआएको बताउनु भयो ।
घटनास्थल दुई पोखरीबाट कुटपिटको विरोधमा र्याली गर्दै नगरपालिका कार्यालयमा पुगेर विरोध सभामा परिणत भई कार्यालय घेराउ गरि कारवाहीको माग गरेका हुन् ।
घेराउमा सहभागि नेकपा एमाले भक्तपुर जिल्ला कमिटीका अध्यक्ष बचन देउजाले विकासको नाममा राजनीतिक दृष्टिकोण राखेर आफ्ना कार्यकर्ता कुटपिट गरेको भन्दै उपमेयर श्रेष्ठलाई प्रहरीले पक्राउ गरेर कारवाही गर्नु पर्ने बताउनु भयो ।
मध्यपुरथिमि नगरपालिकाका पूर्वमेयर मदनसुन्दर श्रेष्ठले यसअघिको नगरपालिकाले बनाएको उपभोक्ता सम्बन्धी नियम खारेज गरेर नगरपालिकाले अहिले जथाभावी आफ्ना कार्यकर्ता अनुकूल नियम बनाएर उपभोक्ता समिति गठन गरि मापदण्ड विपरित विकासका काम गरेको आरोप लगाउँदै मापदण्ड विपरित काम नगर्न अनुरोध गर्न गएका आफ्ना कार्यकर्तालाई कुटपिट गरेकोले प्रहरीले तत्काल पक्राउ गर्नु पर्ने माग राख्नु भयो ।
एमाले मध्यपुरथिमि नगर कमिटी अध्यक्ष सूर्यलाल श्रेष्ठले सत्ताको दुरुपयोग गर्दै उपमेयरले मान्छे कुटेको भन्दै कारवाही गर्न प्रहरीले चासो नदिएको आरोप लगाएका थिए ।
दुई घण्टा भएको घेराउका कारण नगरपालिकाको काम दिनभर ठप्प भएको थियो ।
