मध्यपुरथिमि नगरपालिकाका उपप्रमुख एवं नेकपा माओवादी केन्द्र मध्यपुरथिमि नगर समितिका अध्यक्ष विजयकृष्ण श्रेष्ठसहितको समूहको कुटपिटबाट एमालेका कार्यकर्ता घाइते भएका छन् ।
मध्यपुरथिमि नगरपालिका–५ को बाटो बिस्तार कार्य मापदण्ड विपरित अगाडि बढाएको भन्दै ०७९ फागुन १४ गते विरोध गरेर सडकमा ढुङ्गा छाप्न रोक्न खोजेको भन्दै उपप्रमुख श्रेष्ठ र स्वकीय सचिव सचिन बज्राचार्यसमेतको समूहको कुटपिटबाट नेकपा एमाले मध्यपुर नगर कमिटी सचिव सुमन जोशी र अनेरास्ववियु मध्यपुर नगर कमिटी अध्यक्ष विवेक भसिमा घाइते भएका छन् ।
कुटपिटबाट घाँटी र टाउकोमा चोट लागेको भासिमाले जानकारी दिनुभयो । घाइतेको नागरिक कम्युनिटी अस्पताल गठ्ठाघरमा उपचारपछि घर फर्किएको र उपप्रमुख सहित कुटपिटमा संलग्नलाई कारवाही गर्न माग गर्दै प्रहरी वृत्त थिमिमा पीडित पक्षले उजुरी दिएका छन् ।
नेकपा एमाले मध्यपुरथिमि नगर कमिटी अध्यक्ष सूर्यलाल श्रेष्ठले आफ्ना कार्यकर्तालाई कुटपिट गरि घाइते बनाउने उपप्रमुख श्रेष्ठसहितको टोलीलाई कारवाहीको माग गरेको छ ।
प्रहरी वृत्त थिमिका डिएसपी रबिन श्रेष्ठले घटनापछि प्रहरीमा उजुरी आएको बताउँदै दुवै पक्षलाई कार्यालयमा बोलाई छलफल गर्न खोज्दा पीडित पक्ष आए पनि उपप्रमुख श्रेष्ठ भने आफू नआएर प्रतिनिधि पठाएपछि छलफल हुन नसकेको बताउनु भयो ।
घटनाबारे अनुसन्धान भइरहेको र पुन दुवै पक्षलाई बोलाएर छलफल गरिने डिएसपी श्रेष्ठले जानकारी दिनुभयो ।