INSEC Online

📅 २०८३ जेष्ठ २१

चौबिस वर्षपछि मुद्दा मुल्तबीमा

भारत जिल्ला मधुबनी थाना अन्द्रामण्ठ अन्तर्गत बिक्रमशेर गाउँमा जन्म भई राजगढ गाउँपालिका–४ बेल्ही चपेनास्थित रामजानकी मन्दिरमा ३० वर्षदेखि पूजा गर्दै आएका ६० वर्षीय महन्थ जानकी दास वैरागीको हत्या घटनामा अदालतले फागुन १४ गते मुद्दा मुल्तबीमा राख्ने अन्तिम आदेश गरेको छ ।

जिल्ला न्यायाधीश हेमन्त रावलको इजलाशले राजगढ गाउँपालिका–४ बेल्ही चपेनाका ५० वर्षीय रामनारायण मण्डल, सोही ठाउँका ५० वर्षीय रामदेव सदा मुसहर, ४७ वर्षीय ओमप्रकाश मण्डल, ७१ वर्षीय गंगाराम मण्डल, ७० वर्षीय मनिक शर्मा, ६७ वर्षीय बौका भनिने बच्चा यादव र ५६ वर्षीय भोलीचन सदा मुसहरविरुद्धको मुद्दा मुल्तबीमा राखेको अदालतका सूचना अधिकारी भरत पोखरेलले बताउनु भयो ।

राजगढ गाउँपालिका–३ नघोस्थित कोशी पश्चिमी नहरको उत्तर दक्षिण जाने पुलदेखि पश्चिम नहरको डिलमा छरिएको अवस्थामा हाडखोर र नहरको पानीमा दासले प्रयोग गर्ने कपडा, झोला, माला, ऐना, रातो चन्दनको बोतल, आचमनी चम्चा, महन्थश्री जानकी दास जी लेखिएको परिचय कार्ड, हनुमान चालिसा र सिताराम लेखिएको जप गर्ने पुस्तक ०५५ साउन ३ गते फेला परेको थियो । शवको सनाखत गरी राष्ट्रिय विधि विज्ञान प्रयोगशालाबाट ०५५ साउन १८ गते स्वास्थ्य जाँच परीक्षण भएको थियो ।

राजगढ गाउँपालिका–१ झुटकी घर भई राजगढ गाउँपालिका–४ बेल्ही चपेनास्थित रामजानकी मन्दिरमा पूजा गर्ने बाबाजी तथा मृतकका शिष्य लक्ष्मी दास वैरागीले ०५५ साउन ३ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिनु भएको थियो । आरोपित बौकाइ भनिने बच्चा यादवले ०५५ असार २३ गते महन्थ दासलाई लिएर गएदेखि बेपत्ता रहेको र आरोपितहरूले मिलेर हत्या गरेको उजुरीमा उल्लेख छ ।

जिल्ला प्रहरी कार्यालयले ०५५ साउन गते नै उजुरी दर्ता गरे पनि आरोपितहरूलाई गिरफ्तार नगरी कारबाही प्रक्रिया अगाडि नबढाएको भन्दै मृतकका नाती प्रभुनारायण यादवले ०५५ असोज २५ गते प्रहरी प्रधान कार्यालय काठमाडौंमा कारबाहीका लागि निवेदन दिनु भएको थियो । यस्तै लक्ष्मी दास वैरागीले ०५६ वैशाख १६ गते जिल्ला सरकारी वकिल कार्यालय र महान्यायाधिवक्ताको कार्यालयमा कारबाहीका लागि निवेदन दिनु भएको थियो । घटना पूर्व ०५५ असार १ गते महन्थ वैरागीले स्वयम् शान्ति सुरक्षाका लागि जिल्ला प्रशासन कार्यालयमा निवेदन दिनु भएको थियो । आरोपितहरू फेला नपरेको भन्दै ०७५ असार २२ गते जिल्ला अदालतमा अभियोग पत्र दायर भएको थिएन ।

अन्य

भिडियो