INSEC Online

📅 २०८३ जेष्ठ २१

मृत्यु भइसकेका आरोपितको मुद्दा मुल्तबीमा

१४ वर्षीया अपाङ्गता भएकी बालिकालाई बलात्कार गरेको आरोपमा जिल्ला अदालतले खडक नगरपालिका–७ मझौका ४५ वर्षीय नारायण घिसिङविरुद्धको मुद्दा फागुन ११ गते मुल्तबीमा राख्ने फैसला गरेको छ ।

जिल्ला न्यायाधीश डा. राजेन्द्रकुमार आचार्यको इजलाशले मुद्दा मुल्बतीमा राख्ने फैसला गरेको अदालतले जनाएको छ । एक जना मात्र रहेका आरोपित घिसिङको मृत्यु भइसकेकोले मुद्दाको अस्तित्व समाप्त हुनुपर्ने भनेर इन्सेक सप्तरी प्रतिनिधिले प्रमुख न्यायाधीश हेमन्त रावललाई सो बारे जानकारी गराउनु भएको छ । आरोपितको मृत्यु भएपछि ‘अपराधीसँगै अपराध पनि मर्छ’ भन्ने फौजदारी न्यायको सिद्धान्त बमोजिम मुद्दाको अस्तित्व पनि समाप्त हुनुपर्ने इन्सेक प्रतिनिधिले जिकिर गर्नुभएको छ । प्रमुख न्यायाधीश रावलले सम्बन्धित न्यायाधीशलाई यसबारे ध्यानाकर्षण गराउने र छिटै समाधान गर्ने बताउनुभएको छ ।

घटनापछि फरार रहेका अराोपित घिसिङ खडक नगरपालिका–७ मझौस्थित सडक छेउ कलभर्टमा मादक पदार्थ सेवन गरी लडिरहेको खबर पाएपछि सई शम्भु पाठकको नेतृत्वको टोलीले ०७८ जेठ २६ गते उद्धार गरी ल्याएको र स्वास्थ्य अवस्था गम्भिर देखेपछि निजको छोरा विशालको जिम्मा लगाई उपचारका लागि अस्पताल पठाएको थियो । कल्याणपुरस्थित युनिभर्सल हस्पिटल एण्ड डाइग्नोष्टि सेन्टरमा उपचारका क्रममा ०७८ जेठ २७ गते राति घिसिङको मृत्युु भएको र पोष्टमार्टम समेत भइसकेको इलाका प्रहरी कार्यालय कल्याणपुरका इन्स्पेक्टर राजु अधिकारीले बताउनु भयो । यसबारे जिल्ला अदालतमा ०७९ पुस २१ गते लिखित जानकारी समेत गराएको इन्स्पेक्टर अधिकारीले बताउनु भयो ।

पक्षघात र छारे रोगबाट ग्रसित भई दायाँ हातखुट्टा राम्रो नचल्ने र राम्रो बोल्न नसक्ने १४ वर्षीया बालिका घरमा एक्लै सुतेको मौका छोपी आरोपितले ०७६ साउन २९ गते राति बलात्कार गरेको भन्दै पीडितकी ३६ वर्षीया आमाले इलाका प्रहरी कार्यालय कल्याणपुरमा ०७६ साउन ३० गते उजुरी दिनुभएको थियो । पीडितको स्वास्थ्य परीक्षण ०७६ साउन ३० गते गजेन्द्रनारायण सिंह अस्पताल राजविराजमा भएको थियो । ट्रयाक्टर चालक पति राति घर नआएको र आफू छिमेकीको घरमा टेलिभिजन हेर्न गएको बेला आरोपित फुत्त निस्केर मकैबारीतर्फ भागेको र बालिका छोरीले घटनाबारे जानकारी दिएको उजुरीकर्ताले बताउनु भयो ।

 

अन्य

भिडियो