१५ र १६ वर्षीया बालिकालाई ०७९ वैशाख ८ गते बलात्कार गरी मानव बेचबिखन गर्न भारततर्फ लगेको कसुरमा जिल्ला अदालतले भारतको माल्दा जिल्ला ठाना इङलिस बजार पोष्टका २८ वर्षीय भोला पोदारलाई १५ वर्ष र भारत आलरपुरद्धार ठाना फालाकाटा देसवन्दुपाडाका २७ वर्षीय निकी साहलाई १७ वर्ष कैद सजायको फैसला सुनाएको छ ।
जिल्ला अदालतका न्यायाधीश भिमबहादुर निरौलाको फागुन ११ गतेको इजलासले बलात्कार र मानव बेचबिखन कसुरमा कैद सजायको फैसला सुनाएको जिल्ला अदालतका सूचना अधिकारी अर्जुनप्रसाद गुराँगाईले बताउनु भयो ।
पीडित बालिकालाई आरोपितद्घयले ०७९ वैशाख ८ गते बलात्कार गरी वेचबिखनका लागि भारततर्फ लगेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध वैशाख ८ गते इलाका प्रहरी कार्यालय काड्डभिट्टामा उजुरी दिएको थियो ।
पीडित पक्षको उजुरीका आधारमा प्रहरीले आरोपितद्वयलाई वैशाख ८ गते काड्डभिट्टाबाट गिरफ्तार गरेको थियो ।
आरोपितविरूद्ध प्रहरीले जिल्ला अदालतमा जेठ ३ गते बलात्कार र मानव बेचबिखन शीर्षकमा मुद्दा दर्ता गरेको थियो ।
जिल्ला अदालतका न्यायाधीश इन्दिरा शर्माको जेठ ४ गतेको आदेशले आरोपितद्वय पुर्पक्षका लागि थुनामा थिए ।
पीडित बालिकाद्वयको स्वास्थ्य परीक्षण मेची अस्पतालमा वैशाख ८ गते गरिएको थियो ।