७० वर्षीया बृद्धालाई बलात्कार गरेको कसूरमा खडक नगरपालिका–८ मुसहर्नियाका ४० वर्षीय रोहित सदालाई फागुन २ गते नौ वर्ष कैद सजायको फैसला भएको छ ।
जिल्ला न्यायाधीश हर्कबहादुर क्षेत्रीको इजलाशले बलात्कार गरेको ठहर गर्दै नौ वर्ष कैद सजायका साथै १ लाख रुपियाँ क्षतिपूर्ति भराउन र फौजदारी कसूर पीडित राहत कोषमा १ हजार ८ सय रुपियाँ जम्मा गर्नुपर्ने फैसला भएको सूचना अधिकारी भरत पोखरेलले बताउनु भयो ।
सदाले २०७५ असोज १६ गते राति बलात्कार गरेको भन्दै पीडितले इलाका प्रहरी कार्यालय कल्याणपुरमा ०७५ असोज १७ गते उजुरी दिनुभएको थियो । इलाका प्रहरी कार्यालय कल्याणपुरले असोज १७ गते पीडितको उजुरी दर्ता गरेको थियो ।
घरमा सुतिरहेका बेला मादक पदार्थ खाएर आएका आरोपितले बलात्कार गरेको पीडितले बताउनु भयो । पीडितको लहान नगरपालिका–३ स्थित रामकुमार उमाप्रसाद शारदा स्मारक अस्पतालमा ०७५ असोज १७ गते स्वास्थ्य परिक्षण भएको थियो ।
इलाका प्रहरी कार्यालय कल्याणपुरले बलात्कार गरेको आरोपमा सदालाई ०७६ भदौ १९ गते गिरफ्तार गरेको थियो । जिल्ला अदालतमा ०७६ भदौ ३१ गते अभियोग पत्र दायर भएकोमा न्यायाधीश उमेश कोइरालाको इजलाशले आरोपित ०७६ असोज १ गतेदेखि पुर्पक्षका लागि राजविराज कारागारमा थुनामा छन् ।