प्राथमिक स्वास्थ्य केन्द्र गर्खाकोटको एक्स–रे मेसिन प्रयोग विहीन भएको छ । पाँच वर्षअघि खरिद गरिएको एक्स–रे मेसिन हालसम्म पनि प्रयोगमा आएको छैन । स्वास्थ्य केन्द्रमा विद्युत् र भवन नहुँदा एक्स–रे मेसिन प्रयोगमा ल्याउन नसकिएको स्वास्थ्य केन्द्रले जनाएको छ ।
आफुलाई सन्चो नभएर उपचारका लागी प्राथमिक स्वास्थ्य केन्द्र गर्खाकोट पुगेकी जुनिचाँदे–४ की मायादेवी शाहीलाई चिकित्सकले छातीमा समस्या देखिएकोले छातिको एक्स–रे गर्न पर्छ भनेको भएपनि स्वास्थ्य केन्द्रमा एक्स–रे मेसिन भएर पनि संचालन नहुँदा एक्स–रे गर्न सुर्खेत जानु परेको गुनासो गर्नु भयो । शाहीले भन्नु भयो संचालनमा नआउने भए मेसिन छ भनेर देखाउनका लागी मात्र किन ल्याएको होला ।
त्यसै गरी जंगलमा घाँसदाउरा गर्न गएको समयमा रुख बाट लडेर हातमा चोट लागेको हुँदा उपचारका लागी प्राथमिक स्वास्थ्य केन्द्रमा गएको र चिकित्सकले हातमा चोट लागेको कुरा पत्ता लगाउन एक्स–रे गर्नपर्ने बताएपनि गाउँमै भएको स्वास्थ्य केन्द्रमा एक्स–रे नभएपछि आफु कोहलपुरमा उपचारका लागी जानपरेको जुनिचाँदे–५ का तिर्थ शाहीले बताउनु भयो । शाहीले भन्नु भयो स्वास्थ्य केन्द्रमा एक्स–रे मेसिन त छ तर केकति कारणबाट प्रयोगमा नआउँदा विरामी गाउँमै पाउने उपचार सेवाबाट बन्चित हुन परेको छ ।
उता प्राथमिक स्वास्थ्य केन्द्र लाई पाँच वर्ष पहिला राष्ट्रिय बीमा संस्थानले १६ लाख रुपैंयाको एक्स–रे मेसिन दिएको थियो । सोलार पावरबाट एक्स–रे मेसिन चलाउन नसकेपछि प्रयोगमा ल्याउन नसकिएको प्राथमिक स्वास्थ्य केन्द्र गर्खाकोटका प्रमुख बलबहादुर शाहीले बताउनु भयो ।
‘विद्युत अभावकै कारण एक्स–रे मेसिन प्रयोगमा ल्याउन सकिएको छैन,’ उहाँले भन्नु भयो । विद्युत नआउँदा सम्म जेनरेटरबाट मेसिन चलाउन सकिने भए पनि जेनेरेटर र भवनका लागि जुनिचाँदे गाउँपालिकासँग माग गर्दा सुनुवाइ नभएको उहाँले बताउनु भयो ।
स्वास्थ्य केन्द्रमा भएको एक्स–रे सेवा सञ्चालनमा आउन नसक्दा यस क्षेत्रका बिरामी सामान्य उपचारका लागि पनि कोहलपुर, नेपालगञ्ज र सुर्खेत सम्म जानुपर्ने बाध्यता रहेको छ ।