INSEC Online

📅 २०८३ जेष्ठ २१

रेफर प्रक्रियाले बिरामीलाई सास्ती

मानिस बिरामी भएपछि सहज रुपमा उपचार पाउनुपर्ने हो तर पाल्पामा भने टिकट लिन र रेफर लेटर बनाउन बिरामीले सास्ती भोग्दै आएका छन् ।

गरिब तथा विपन्न नागरिकहरूले पनि सहजरुपले औषधी उपचार सेवा पाउन भन्ने उद्देश्यले सरकारले ल्याएको स्वास्थ्य बीमा कार्यक्रम अन्तरगत बीमा गरेका बिरामीहरूले पहिले पाल्पा अस्पताल उपचारका लागि जानुपर्ने र अन्य अस्पताल जानुपर्ने भएमा पाल्पा अस्पतालको रेफर लेटर अनिवार्य भएपछि बिरामीहरुले सास्ती बेहोर्नु परेको हो ।

बिमित बिरामीले उपचारका लागि पहिलो पटक पाल्पा अस्पतालमा उपचारका लागि जानुपर्ने र त्यहाँ उपचार सम्भव नभए सरकारी अस्पतालले नै अन्य अस्पतालमा रेफर गर्ने व्यवस्थाका कारण पाल्पा अस्पतालमा बिरामीहरुको भिड हुने गरेको छ । टिकट लिन र रेफर लिनकै लागि यहाँ बिरामीहरू लामो समय लाइनमा बस्न बाध्य छन् । बगनासकाली गाउँपालिका– ५ का सुन्दर कोइरालाले रेफर प्रक्रियाले धेरै बिरामीले दुःख पाएको बताउनु भयो ।

बीमा कार्यक्रम अन्र्तगत एक परिवारमा पाँच जनाको एकमुष्ट ३५ सय रूपियाँ बुझाएपछि उक्त परिवारले वर्षभरिमा १ लाख रूपियाँ बराबरको उपचार निःशुल्क पाउने व्यवस्था रहेको छ । त्यस्तै पाँच जना भन्दा बढी ब्यक्ति भएको परिवारले प्रति व्यक्ति ७ सय रूपियाँ बुझाउनुपर्ने र त्यसबापत थप प्रति सदस्य २० हजार रूपियाँ बराबर  उपचार सुविधा पाउने कार्यक्रम रहेको छ ।

अस्पतालमा आवश्यक पूर्वाधार र जनशक्ति नहुँदा  स्वास्थ्य बिमाको कार्यक्रम सञ्चालन हुदा समस्या भएको हो । स्वास्थ्य बिमा कार्यक्रम सरकारी अस्पतालबाट सञ्चालन गर्ने भनियो तर बिमा सम्बन्धी काम गर्ने र आवश्यक औषधि, जनशक्ति र व्यवस्थापन नहुँदा समस्या थपिएको हो ।

जिल्लामा स्वास्थ्य बिमा कार्यक्रम मार्फत २ लाख ३० हजार  ३३ जनाले सेवा लिएका छन् । त्यस्तै ११ हजार ४ सय ६९ जनाले ज्येष्ठ नागरिक सेवा लिँदै आएको स्वास्थ्य बिमा बोर्ड पाल्पाका प्रमुख अर्जुन पौडेलले बताउनु भयो । बिरामी हुँदा रेफर लेटर बनाउनकै लागि जिल्ला अस्पताल आउनु अनिवार्य छ ।

अर्को ठूलो नीजि अस्पताल लुम्बिनी मेडिकल कलेजमा भने चालु आर्थिक वर्षबाट स्वास्थ्य बिमा कार्यक्रम मार्फत बिरामीहरूको उपचार बन्द भएको छ । यसबारे पनि खास छलफल भएको छैन ।

जिल्ला अस्पताल पाल्पाका डा. विवेक अधिकारीले पाल्पा अस्पतालमा दैनिक ३ सय जना सम्म बिरामी आउने गरेको बताउनु भयो । जसमध्ये ६० प्रतिशत बढी रेफर लेटर बनाउन आउने गरेको उहाँले बताउनु भयो ।

अन्य

भिडियो