कञ्चनरुप नगरपालिका–९ धरमपुरका ४३ वर्षीया मुनियादेबी यादवको हत्याका आरोपित भारतको हिली पश्चिम दिनानाथपुर बंगालका ६५ वर्षीय जयदेव कायस्थविरुद्धको मुद्दा ०७९ माघ २४ गते मुल्तबीमा राख्ने फैसला भएको छ ।
सप्तरी जिल्ला अदालतका न्यायाधीश लालकाजी श्रेष्ठको इजलाशले कञ्चनरुप नगरपालिका–२ स्थित सिताराम बिडी फैक्ट्रीमा काम गर्ने कञ्चनरुप नगरपालिका–९ स्थित टिराहु खंगको घरमा डेरा बसेका भारतीय नागरिकविरुद्धको मुद्दा मुल्तबीमा राख्ने फैसला गरेको हो ।
दुध बेच्न घरबाट निक्लिएकी पीडित ०५७ जेठ २ गतेदेखि बेपत्ता भएकी थिइन् । पीडितका पति भोला यादवले इलाका प्रहरी कार्यालय कञ्चनरुपमा ०५७ जेठ ८ गते मुनियादेबी यादव हराएको निवेदन दिनुभएको थियो ।
पीडितको शव कञ्चनरुप नगरपालिका–९ स्थित बालकदास चौधरीको घर पछाडि गाडिएको अवस्थामा ०५७ जेठ १० गते फेला परेको थियो । यसैगरी अर्ध फुलेको लामो कपाल, टाउकोको छालाको मासुको टुक्राहरु आरोपित बस्ने कोठामा जमिनमुनी गाडेको अवस्थामा फेला परेको थियो ।
दुधको बाँकी पैसा माग्दा आरोपितसँग विवाद भई हत्या गरी जमिनमा गाडेर लुकाएको भन्दै मृतकका पति भोला यादवले इलाका प्रहरी कार्यालय कञ्चनरुपमा ०५७ जेठ १० गते उजुरी दिनु भएको थियो । सडेगलेको कुहिएको अवस्थामा फेला परेको शवको पोष्टमार्टम हुने अवस्था नभएको भन्दै ०५७ जेठ १० गते नै प्रहरीले शव सदगत गर्न पीडित परिवारलाई जिम्मा लगाएको थियो ।
घटनाकै दिनदेखि आरोपित फरार रही फेला नपरे पछि इलाका प्रहरी कार्यालय कञ्चनरुपले जिल्ला अदालतमा ०७७ जेठ ६ गते अभियोग पत्र दायर गरेको थियो । वारेण्टसहितको पक्राउ पुर्जी जारी भएपनि आरोपित फेला नपरे पछि अदालतले गोरखापत्र दैनिकमा ०७९ असोज ३ गते पक्राउ पुर्जी समाह्वान म्याद सूचना प्रकाशन गरेको थियो ।