भीमेश्वर नगरपालिका–३, देउराली डाँडामा रहेको भीमेश्वर सुस्त श्रवण (बहिरा) प्राथमिक विद्यालयमा छात्रावास भवन अभाव हुँदा विद्यार्थी अध्ययन गर्ने कक्षामै सुत्न बाध्य छन् ।
आवासीय विद्यालय भए पनि अध्ययनरत विद्यार्थीका लागि विद्यालयमा छात्रावास भवनको समस्या परेको विद्यालय व्यवस्थापन समितिले जनाएको छ ।
आवासको समस्या हुँदा कतिपय विद्यार्थीलाई कक्षा कोठामै सुताउने गरेको विद्यालयका प्रधानाध्यापक गुणराज सुवेदीले बताउनुभयो । विद्यालयको नाममा जग्गा भए पनि आर्थिक अभावका कारण छात्रावास भवन निर्माण गर्न नसकिएको प्रधानाध्यापक सुवेदीको भनाइ छ ।
भीमेश्वर नगरपालिकाले विद्यालयलाई १० लाख रुपैयाँ बजेट विनियोजन गरे पनि सो रकम भवन निर्माण गर्न अपुग हुने भएपछि विद्यार्थीका लागि भान्छाघर निर्माण गर्ने तयारी भइरहेको भन्दै सुवेदीले भवन अभावमा माथिल्लो कक्षा सञ्चालनमा समस्या देखिएको बताउनुभयो ।
विद्यालयमा पाँच कक्षासम्म मात्र अध्यापन भइरहेकाले माथिल्लो कक्षाको अध्यापन गर्न नसक्दा धेरै विद्यार्थीले पाँच कक्षापछि पढाइ छाड्ने गरेको सुवेदीको भनाइ छ । माथिल्लो कक्षामा पढ्नका लागि विद्यार्थीलाई काभ्रे, सिन्धुलीलगायत जिल्लामा जानुपर्ने बाध्यता छ ।
सरकारले यसलाई प्राथमिकतामा राखेर तत्काल आवास र चमेना भवनको व्यवस्था गरेर थप कक्षा सञ्चालनको अनुमति तथा शिक्षकको व्यवस्थासमेत गर्नुपर्ने सुवेदीले बताउनुभयो ।
दोलखाको एउटा मात्र बहिरा विद्यालय भएकाले दोलखा जिल्ला तथा छिमेकी जिल्लाबाट विद्यार्थी आउने र उनीहरूलाई छात्रावासमा राख्नुपर्ने बाध्यता रहेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामकृष्ण तामाङ बताउनुहुन्छ ।
जिल्लाको एउटा मात्र बहिरा विद्यालय भएकाले सरकारले यसलाई प्राथमिकतामा राखेर तत्काल आवास र चमेना भवनको व्यवस्था, थप कक्षा सञ्चालनको अनुमति तथा शिक्षकको व्यवस्थासमेत गर्नुपर्ने अध्यक्ष तामाङले भन्नुभयो ।
विद्यालयमा एक जना प्रावि स्थायी, एक जना प्रावि करार, एक जना प्रावि राहत र एक जना बाल विकास गरी चार जना शिक्षक, दुई जना सुस्त श्रवण भएका शिक्षक, दुई जना आया र एक जना कार्यालय सहयोगी रहेको विद्यालयले जनाएको छ । २०७१ सालमा स्थापना भएको सो बहिरा विद्यालयमा हाल १३ जना छात्रा र १७ जना छात्र गरी ३० जना सुस्त श्रवण भएका विद्यार्थी अध्ययनरत छन् ।