१३ वर्षीया बालिकालाई बलात्कार गरेको अभियोगमा तिलाठी कोइलाडी गाउँपालिका–८ सडेपारका २२ वर्षीय ट्रक चालक रंगिला तथा लडुलाल भनिने विसुनदेव मण्डललाई ०७९ माघ १८ गते १८ वर्ष कैद सजाय भएको छ ।
जिल्ला न्यायाधीश लालकाजी श्रेष्ठको इजलाशबाट आरोपितलाई १८ वर्ष कैदका साथै आरोपितले पीडितलाई एक लाख रुपियाँ क्षतिपूर्ति दिनुपर्ने र २ हजार २ सय रुपियाँ फौजदारी कसूर पीडित राहत कोषमा जम्मा गर्नुपर्ने फैसला भएको छ ।
आरोपितले २०७९ वैशाख ४ गते हनुमाननगर कंकालिनी नगरपालिका–१ स्थित कोशी व्यारेजमा ट्रकबाट ओरालेर बलात्कार गरेको पीडितले बताउनु भएको छ । पीडितका अनुसार आफन्त परिवारलाई भेंटेर मामाली घर आउने क्रममा राजविराज नगरपालिका–३ स्थित कञ्चनरूप रोडबाट आरोपितले घर पुर्याइ दिने भन्दै ट्रकमा चढाएको र ट्रक रोकी सुनसान ठाउँमा बलात्कार गरे । डरधाक धम्की दिई आरोपितले ३ दिनसम्म सँगै राखेर पटक–पटक बलात्कार गरेको समेत पीडितले बताउनु भयो ।
पीडितले बताएका आधारमा मामाली हजुरआमाले इलाका प्रहरी कार्यालय कञ्चनरूपमा जेठ १५ गते उजुरी दिनुभएको थियो । पीडितका अनुसार वैशाख ७ गते साँझ घरदेखि पश्चिम खाँडो नदी पुलमा अलपत्र छाडी आरोपित फरार भएका हुन् ।
जिल्ला प्रहरी कार्यालय सप्तरीमा वैशाख ८ गते उजुरी दिएपछि गजेन्द्रनारायण सिंह अस्पताल राजविराजमा स्वास्थ्य परीक्षण भएको थियो । जिल्ला प्रहरी कार्यालयले दुबै पक्षलाई राखी छलफल गराएको र धेरै पछि कारबाहीका लागि कञ्चनरूप प्रहरी कार्यालय पठाएको पीडितका परिवारले बताएका थिए ।
इलाका प्रहरी कार्यालय कञ्चनरूपले जेठ १५ गते मात्र उजुरी दर्ता ग¥यो । आरोपित ०७९ जेठ २२ गते गिरफ्तार भएका थिए । जिल्ला अदालतमा ०७९ असार १३ गते अभियोग पत्र दायर भएकोमा जिल्ला न्यायाधीश नारायणप्रसाद दाहालको आदेशमा आरोपित असार १४ गतेदेखि पुर्पक्षका लागि राजविराज कारागारमा थुनामा नै छन् ।