INSEC Online

📅 २०८३ जेष्ठ २१

आन्दोलनका घाइतेको स्वास्थ्योपचार तथा क्षतिपूर्तिको माग

सप्तरीका कानुन व्यावसायीहरूले ०७३ फागुन २३ गते रुपनी गापा-५ साविक बसविट्टी गाविस-५ मा भएको घटनामा प्रहरीको गोली लागी घाइते भएका जिल्ला बार एशोसिएनका कोषाध्यक्ष दिगम्बर यादवको निशुल्क उपचार गराउनुका साथै उचित क्षतिपूर्ति दिन जेठ १९ गते राज्य पक्षसँग माग गरेका छन् ।

जिल्ला तथा उच्च अदालत बार एशोसिएसन राजविराजद्वारा संयुक्त रूपमा जेठ १९ गते आयोजित कार्यक्रममार्फत कानुन व्यावसायीहरूले गरेको निशुल्क स्वास्थ्योपचार र क्षतिपूर्तिको मागलाई सरकारले बेवास्ता गरे कडा आन्दोलन गर्ने समेत चेतावनी दिएका छन् । घाइते यादवको पेटको गोली अझै ननिकालिएकोले कानुन व्यावसायीहरूले शीघ्र स्वास्थ्य उपचार गर्न नेपाल बार एशोशिएसन, गृह मन्त्रालय, मन्त्रिपरिषदलगायत निकायहरूसँग माग गरेका छन् ।

कार्यक्रममा घाइते अभिवक्ता दिगम्बर यादवले हालसम्म आफूलाई उपचारमा सहयोग गर्ने कानुन व्यावसायीलगायत सबैमा धन्यवाद व्यक्त गरे ।

सप्तरी जिल्ला बार एशोसिएनका अध्यक्ष रामप्रसाद चौधरीद्वारा सञ्चालित कार्यक्रममा उच्च अदालत बार एशोशिएसन राजविराजका अध्यक्ष विजयकुमार यादव, कानुन व्यावसायीहरू हरिप्रसाद यादव, कामेश्वर यादव, गोपालप्रसाद साह, मीना देव, फुलबावु गुप्तालगायतले मन्तव्य दिएका थिए ।

संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा, सप्तरीको आह्वानमा नेकपा (एमाले) को मेची महाकाली अभियान बिथोल्न उत्रिएका प्रदर्शनकारीसँग भएको झडपमा सुरक्षाकर्मीले प्रहार गरेको गोली लागेर अभिवक्ता यादव घाइते भएका थिए ।

अन्य

भिडियो