INSEC Online

📅 २०८३ जेष्ठ २१

पीडितको न्यायमा पहुँच पुर्‍याउन सचेनतामूलक अभियान सञ्चालन

मंगलसेन नगरपालिकाका स्थानीयहरुको न्यायमा पुहँच अभिबृद्धि गर्ने उद्धेश्यले मंगलसेन नगरपालिका न्यायिक समितिले नागरपालिकाको वाडास्तरमा चेतनामूलक कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ ।

स्थानीय न्यायिक समितिको क्षेत्राधिकारमा रहेका मुद्दाहरुमा पीडितहरुको सहज पहुँच पुर्‍याउन र सहज रुपमा न्याय सम्पादनको वातावरण बनाउन मंगलसेन नगरपालिकाले वडा तहमा पुगेर चेतनामूलक अभियान सञ्चालन गर्दै आएको हो ।

photo20230201Achham (1)

गाउँघरमा हुने हिंसा, विवाद र घटनालाई नाटक र प्रस्तुतिबाट सचेतना फैलाउँदै स्थानीय तहको न्यायिक क्षेत्राधिकार, न्याय निरुपणका प्रक्रिया, समयावधि र नगरको कानुनी सहायताका बारेमा समेत वडाबासीलाई जानकारी दिदै आएको मंगलसेन नगरपालिका–११ बान्नातोलीका स्थानीय बमबहादुर रावलले बताउनु भयो ।

उहाँले भन्नु भयो– “गाउँमा न्यायिक प्रक्रियाका बारेमा धेरैले बुझेका थिएनन् । न्यायिक समितिको काम, कर्तव्यका बारेमा गाउँमै धेरैले बुझ्न पाए । यसले आगामी दिनमा स्थानीयहरुलाई न्याय प्रक्रियामा जान र न्याय पाउन सहज हुने छ ।”

मंगलसेन नगरपालिका–१ कुन्तीकी मथुरा जैगडीले वडा तहमा नै आएर न्यायिक समितिका पदाधिकारी र प्रहरी प्रशासनका प्रतिनिधिहरुले न्यायमा पुहँच पुर्‍याउन पीडितहरुले जान्नु पर्ने प्रक्रियाका बारेमा जानकारी दिएपछि पीडितहरु न्याय पाउने प्रक्रियाका बारेमा जानकार भएका र वडा तहमा भएका विवादहरुको व्यवस्थापनका लागि महिलाको सञ्जाल समेत गठन गरिएको बताउनु भयो ।

उहाँले भन्नु भयो– ‘न्यायिक समितिको निर्णाय अधिकार क्षेत्र र न्याय लिने तरिका बारेमा सचेतिकरण अभियान चलाइएको छ । न्यायिक प्रक्रियाका बारेमा नागरिकहरु जानकार भएमा अन्यायका विरुद्धमा न्यायिक निकायमा जान समेत सहज हुने भएको छ । न्यायिक प्रक्रियाका बारेमा जानकारी नहुँदा समेत पीडितहरु न्याय पाउनबाट वञ्चित हुँदै आएकाछन् । यस सचेतिकरण कार्यक्रमले स्थानीयलाई सहयोग पुगाएको छ ।’

photo20230201Achham (2)

पीडितहरुको न्यायमा पहुँच पु्र्यान र अपराधको न्यूनिकरण गर्नका लागि न्यायिक समितिका संयोजक संगीता रावलसँगै समितिका सदस्य, प्रहरी प्रमुख, जनप्रतिनिधि र स्थानीय अगुवाहरुले हिंसा, अपराध, अधिकार, कर्तव्य र कानुनी प्रक्रियामा बारेमा सचेत पार्न वडा तहमै विभिन्न कार्यक्रमहरु सञ्चालन गर्दै आउनु भएको छ  ।

हिंसाका कारण, अवस्था र न्यायिक प्रक्रियाका बारेमा वाडाबासीहरुलाई बुझाउने उद्धेश्यले कार्ययोजना बनाएरै कानुनी सचेतना कार्यक्रमहरु सञ्चालन गरिदै आइएको र यसलाई निरन्तरता दिने मंगलसेन नगरपालिका उपप्रमुख तथा न्यायिक समिति संयोजक संगीता रावल सोडारीले बताउनु भयो ।

photo20230201Achham (3)

संविधानको धारा २१७ मा आफ्नो अधिकार क्षेत्र भित्रका विवाद निरुपण गर्न गाउँपालिका वा नगरपालिकाका उपप्रमुख / उपाध्यक्षको संयोजकत्वमा तीन सदस्ययी न्यायिक समिति रहने व्यवस्था छ । स्थानीय सरकार सञ्चालन ऐन २०७४ को परिच्छेद ८ मा न्यायिक कार्यसम्बन्धि व्यवस्था रहेको छ ।

photo20230201Achham (4)

अन्य

भिडियो