
इलाका प्रहरी कार्यालय महेन्द्रनगरको हिरासतमा रहेका ६ जना थुनुवा पर्खाल फुटाएर माघ १६ गते फरार भएका छन् । सात जना थुनुवा रहेका थुनुवा कक्षको दक्षिणतर्फको पर्खाल फुटाएर ६ जना थुनुवा फरार भएका छन् । एक जना मोटरसाइकल दुर्घटनाका थुनुवा नभागेको ईलाका प्रहरी कार्यालय महेन्द्रनगरका प्रहरी निरिक्षक बेचन यादवले बताउनुभयो । थुनुवाहरू थुनुवा कक्षमा भएकाले हत्तकडी नलगाएको र पुरानो भवन भएकाले इटा फुटाएर भागेको प्रहरी इन्स्पेक्टर यादवले इन्सेक धनुषा प्रतिनिधीलाई बताउनुभयो ।
फरार हुनेहरूमा हातहतियार तथा खरखजाना मुद्दाका आरोपित शंकर महतो, रोशन कुमार महतो, लागुऔषधका आरोपित विनोद कुमार शर्मा, अन्य मुद्दाका आरोपित अनिष मण्डल र रोशन यादव, अभद्र व्यवहारका आरोपित हरि घिसिङ रहेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रदिप बहादुर क्षेत्रीले जानकारी दिनुभयो ।
प्रशिक्षण प्राप्त कुकुर परिचालन गरि घटनाबारे तिब्र रुपमा अनुसन्धानलाई अगाडी बढाएको जिल्ला प्रहरी कार्यालय धनुषाका एसपी विश्वराज खड्काले बताउनुभयो ।