INSEC Online

📅 २०८३ जेष्ठ २१

पाँच महिनादेखि स्वास्थ्य चौकीमा औषधि अभाव, निराश बन्दै फर्कन्छन् बिरामी

जुनीचाँदे गाउँपालिकामा पाँच महिनादेखि औषधि सकिएको छ । औषधि सकिएको पाँच महिना भइसक्दा पनि उक्त पालिकामा औषधि खरिद गरिएको छैन । एक प्राथमिक स्वास्थ्य केन्द्र, तीन स्वास्थ्य चौकी, सात आधारभूत स्वास्थ्य केन्द्र र ११ सामुदायिक स्वास्थ्य इकाई रहेको जुनीचाँदे गाउँपालिकामा पाँच महिनादेखि औषधि अभाव भएको हो ।

२० लाखभन्दा बढीको औषधि खरिद गर्दा बोलपत्र आह्वान गर्नुपर्ने भएपनि पटक–पटक ‘कोटेशन’ गरेर औषधि खरिद गरेको पाइन्छ । तर जुनीचाँदे गाउँपालिकामा पाँच महिनादेखि औषधि अभाव भएको छ । दुई पटक थोरै परिमाणमा औषधि बोलपत्र आह्वान नगरी ल्याइएको गाउँपालिकाका अध्यक्ष बेदबहादुर शाहीले बताउनु भयो । औषधि छिट्टै आउँदैछ, स्वास्थ्य संयोजक काठमाडौँबाट आएपछि बाँड्ने योजना छ, उहाँले जानकारी दिनु भयो ।

बिरामीलाई स्वास्थ्यकर्मीहरूले औषधि नदिने र सिटामोल लगायत अन्य औषधीहरूसमेत निजी मेडिकलबाट किनेर खानुस् भनेर पठाउने गरेको स्थानीय बताउँछन् । जुनीचाँदे गाउँपालिका–११ का कैलो नेपाली दमले सताएपछि उपचार गर्न स्वास्थ्य चौकी कोर्ताङ्ग जाँदा औषधि बिना नै फर्किनुपरेको गुनासो गर्नुहुन्छ । उहाँले भन्नु भयो “स्वास्थ्य संस्थाका नानीहरूले मेडिकलबाट औषधि किनेर लैजान भनेका थिए, पैसा नभएपछि खाली हात घर फर्किएँ ।”

प्राथमिक स्वास्थ्य केन्द्र जुनिचाँदे–४ गर्खाकोटका सकरे खड्काले स्वास्थ्य केन्द्रले सिटामोल समेत नदिएको गुनासो गर्नुहुन्छ । केही दिनदेखि रुघाखोकी र ज्वरोले ग्रसित बनेका खड्काले भन्नुभयो “उपचार गर्न गएको थिएँ, स्वास्थ्यकर्मीले सिटामोलसमेत दिएनन् ।”

चिसोका कारण रुघाखोकी र ज्वरोले ग्रसित बनेपछि उपचारका लागि स्वास्थ्य संस्था जाने र खाली हात फर्किने कैलो र सकरे जस्तै धेरै बिरामी छन् । स्थानीय सरकार तथा सम्बन्धित निकायबाट यस बिषयमा चासो दिई जनतालाई निशुल्क स्वास्थ्य उपचार सेवा दिनेतर्फ ध्यान दिएको देखिदैन ।

अन्य

भिडियो