INSEC Online

📅 २०८३ जेष्ठ २१

अछामका ४७ मतदान केन्द्र अतिसम्वेदनशील

दोस्रो चरणमा सम्पन्न हुने स्थानीय तहको निर्वाचनमा जिल्ला सुरक्षा समितिले अछामका मतदान केन्द्रहरूमध्ये ४७ ओटा अतिसम्वेदनशील र ६६ ओटा सम्वेदनशील रहेको जनाएको छ । मतदान केन्द्रलाई तीन तहमा विभाजित गरी सुरक्षा समिति विश्लेषण गरेको जिल्ला सुरक्षा समिति संयोजक एवम् प्रमुख जिल्ला अधिकारी शङ्करबहादुर विष्टले जानकारी दिए ।

निर्वाचनमा भाग नलिने राजनीतिक समूहका गतिविधि, भौगोलिक विकटता, सञ्चार असुविधा, भौगोलिक विकटता र यसअघिका निर्वाचनमा देखिएका घटनालाई हेरेर जिल्ला सुरक्षा समितिले अति सम्वेदनशील, सम्वेदनशील र सामान्य गरी तीन तहमा मतदान केन्द्र छुट्याएको हो ।

अछामका १ सय ८५ मतदान केन्द्रको सुरक्षा अवस्थालाई हेरेर मतदान अघि, मतदानको दिन र मतदान पश्चात हुने सुरक्षा चुनौतिको विश्लेषण गरी कडा सुरक्षा योजना बनाइएको प्रजिअ विष्टले जानकारी दिए ।

अछामका १० वटै स्थानीय तहमा नेपाली सेनाका अस्थायी शिविर स्थापना र इन्स्पेक्टरको नेतृत्वमा प्रहरी र म्यादी प्रहरी परिचालन गरिएको छ । जिल्लाका केही स्थानमा सशस्त्र प्रहरीको क्याम्पसमेत स्थापना गरिएको प्रजिअ विष्टको भनाइ छ ।

अछाम जिल्लामा १ सय ८५ मतदान केन्द्रमा १ लाख २७ हजार ७ सय ४२ जना मतदाता रहेका छन् । नेपाली काङ्ग्रेस, नेकपा (एमाले), राप्रपा, नेकपा (माले)लगायत १३ ओटा राजनीतिक दलहरूले जिल्ला निर्वाचन कार्यालयमा दल दर्ता गरेका छन् ।

अन्य

भिडियो