इटहरी उमनपा-६ स्थित आफ्नै घरको कोठामा चार वर्षदेखि थुनिएकी २७ वर्षीया झरना चौधरीको अधिकारकर्मीको टोलीले जेठ १६ गते उद्धार गरेको छ ।

इन्सेक, राष्ट्रिय मानव अधिकार आयोग, मानव अधिकार सञ्जाल सुनसरी, पहल, कोकनलगायतका अधिकारकर्मी संस्थाका प्रतिनिधिले जेठ १६ गते उनको उद्धार गरेका हुन् । अहिले उनलाई जिल्ला अस्पतालमा रहेको एकद्वार सङ्कट व्यवस्थापन केन्द्रमा राखेर उपचार गराइएको छ ।
मानसिक सन्तुलन ठीक नभएपछि हिलाम्मे कोठामा बन्धक बनाइएकी झरनालाई इन्सेक क्षेत्रीय कार्यालय विराटनगरका संयोजक सोमराज थापा, राष्ट्रिय मानव अधिकार आयोगका क्षेत्रीय निर्देशक झङ्कर रावल, कोकनकी क्षेत्रीय संयोजक मञ्जिता उपाध्याय, मानव अधिकार सञ्जाल सुनसरीका संयोजक रमेश भट्टराईलगायतको टोलीले उद्धार गरेको हो ।

वर्षौँदेखि हिलाम्मे कोठामा पशुझैँ थुनिएको थाहा पाएपछि जिल्ला प्रहरी कार्यालय, महिला बालबालिका कार्यालयको सहयोगमा उनलाई उद्धार गरिएको मानव अधिकार सञ्जाल सुनसरीका सहसंयोजक कमल कोइरालाले बताए । मानसिक रोगको उपचार गर्नुको सट्टा पशुझैँ थुनिएको जानकारी पाएपछि अधिकारकर्मीहरूले उद्धार गरेको इन्सेक विराटनगरका क्षेत्रीय संयोजक सोमराज थापाले बताए । उनको अवस्था गम्भीर भएकाले थप उपचारका लागि पहल गरिरहेको पनि उनले जाकारी दिए ।

एक जना भाइ र एक जना बहिनीमात्र रहेकी झरनाका भाइ विदेशमा छन् । घरमा एक्लै रहेकी झरनालाई विवाह भइसकेकी बहिनी र छिमेकीले खाना दिने गरेको स्थानीयले बताए ।