काठमाडौँको शंखरापुर नगरपालिका–३ बोझेनीमा नेपाल विद्युत प्राधिकरणले निर्माण गर्न लागेको सबस्टेशनको काम रोक्नुपर्ने माग गर्दै आन्दोलित स्थानीय र प्रहरीबीच ०७९ पुस २८ गते झडप हुँदा ६ जना घाइते भएका छन् ।
प्रहरीसँगको झडपमा परी घाइते हुनेहरूमा शंखरापुर नगरपालिका–३ की ६५ वर्षीया आईती तामाङ, ३३ वर्षीया मनमाया वाईवा तामाङ, २८ वर्षीया विजय तामाङ, ३१ वर्षीया माया तामाङ, ४५ वर्षीया तुलाराम तामाङ र खोटाङका ३६ वर्षीय आरके तामाङ रहेका छन् ।
घाइते हुनेमध्ये विजय तामाङको हातमा चोट लागेकाले नेपाल मेडिकल कलेज अत्तरखेलमा उपचारपछि घर फर्किएको र अन्य घाइतेहरूको प्राथमिक स्वास्थ्य केन्द्र साँखुमा उपचार भएको राष्ट्रिय सीमान्तिकारण विरुद्ध अभियान नेपालका प्रवक्ता आरके तामाङले बताउनुभयो ।
त्यस्तै प्रहरी गिरफ्तारीमा पर्नेहरूमा शंखरापुर नगरपालिका–३ का ३३ वर्षीय रोहन वाईवा र सोही स्थानका ३६ वर्षीय फुर्साङ तामाङ रहेका छन् । गिरफ्तारीमा परेकाहरूलाई प्रहरीले इलाका प्रहरी कार्यालय साँखुमा राखेको तामाङले बताउनु भयो ।