खलंगा–मार्के–कालिमाटी–दम्दवाली–चप्परगौरी सडक स्तरवृद्धि तथा कालोपत्रेको काम गर्ने क्रममा डोजरले ठाँउठाँउमा पाइप काटिदिदा शारदा नगरपालिका–९ आराका स्थानीयलाई खानेपानीको समस्या भएको छ ।
स्थानीयहरू घर नजिकै खानेपानीको धारा भए पनि खानेपानीको लागि एक महिनादेखि मुहान, जरुवा तथा खोला धाउन बाध्य भएको स्थानीयबासी ६० वर्षीय भीमबहादुर बुढाथोकीले बताउनु भएको छ ।
निर्माण कम्पनीले काटिदिएको पाइप मर्मत नगरिदिएको र स्थानीयले मर्मत गरे पनि सडककै कारण जमिनमुनि नगाडी त्यत्तिकै छाड्दा गुड्ने गाडीले दैनिक फुटाउने गर्दा स्थानीय खानेपानीका लागि मुहान, जरुवा तथा खोला धाउन बाध्य भएको उहाँले बताउनुभयो ।
दैनिकजसो मर्मत गरे पनि गुड्ने गाडीले पाइप फोडिदिँदा अहिले धारामा आउने पानी सडकमा बग्दै आएको छ । जसका कारण आराका ३० घर प्रभावित भएको उहाँले बताउनुभयो । उहाँका अनुसार खानेपानी कार्यालयले केही वर्षअघि ९ लाख रुपियाँ खर्च गरी दुई किलोमिटर टाढाबाट खानेपानी योजना सम्पन्न गरेको थियो ।
योजनाबाट बस्तीमा ६/७ घरलाई एक भन्दै ११ वटा धारा निर्माण गरेको थियो, स्थानीय ५५ वर्षीय गोकर्ण सेजवालले भन्नुभयो, जसबाट झन्डै ८० घर लाभान्वित भएका थिए । ‘डोजरले पाइप काटेपछि माथिल्लो बस्तीमा पानी आइरहेको छ । तल्लो बस्तीका चार धारामा पानी आउन छाडेको छ ।
पुराना भएका मुहान धेरै सुकिसकेका र भएका दुई/चारओटामा पनि पानी कम भएकाले लामो समय पालो कुर्नुपर्ने अवस्था रहेको स्थानीय महिला निर्मला बुढाथोकीले बताउनुभयो । ‘घर नजिकै धारामा २४ घण्टा पानी आउने गथ्र्यो धेरै, सजिलो थियो ।
करिब एक महिनायता अनिदो उठेर टर्च बालेर मुहान दौडनुपर्छ, उहाँले भन्नुभयो, ‘हिजो आज चिसो धेरै बढेकाले बिहानै निस्कन समस्या हुने गर्छ । केही ढिला भए पानी पाउन मुस्किल हुन्छ । अहिले नुहाउन तथा कपडा धुनु परेमा खोलै जानुपर्ने मात्र नभई अन्य सरसफाइमा पनि गाह्रो भएको उहाँको भनाई छ ।
यता सडक निर्माण कम्पनीमा कार्यरत एक कर्मचारीले भने विद्युतले पोल सारिदिए तथा स्थानीयले सडकमा परेको घर भत्काउन दिए दुई/चार दिनभित्रै स्थानीयमा देखिएको खानेपानीको समस्या समाधान हुने बताउनु भएको छ । उहाँले स्थानीयको घरभन्दा बिजुलीको पोलले समस्यामा पारेको जानकारी दिनु भयो ।