दोलखामा करिब पाँच महिनादेखि कोरोना भाइरस विरुद्धको बुस्टर डोज खोप अभाव भएको छ ।
छिमेकी मुलुक चीनमा कोरोना सङ्क्रमण तिव्र गतिमा फैलिएका बेला दोलखामा पाँच महिनादेखि बुस्टर डोज खोप नआएपछि खोप कार्यक्रम नै स्थगित भएको छ ।
गत भदौदेखि खोप नआएपछि बुस्टर डोज खोप लगाउन रोकिएको स्वास्थ्य कार्यालय दोलखाका प्रमुख उत्तम खनालले जानकारी दिनुभयो । उहाँले मुलुकभर नै बुस्टर डोज खोपका अभाव भइरहेकाले दोलखामा पनि खोप ल्याउन नसकिएको बताउनुभयो । अझै १६ हजार ९ सय ९७ जनाले बुस्टर डोज खोप लगाउन बाँकी छ ।
जिल्लाको उत्तरी क्षेत्रको सीमामा रहेको चीनमा पछिल्लो समय कोरोना सङ्क्रमण दिनप्रतिदिन फैलिरहेको छ । चीनमा दैनिक कोरोना सङ्क्रमणबाट ९ हजारको मृत्यु हुने गरेको छ भने १० लाख सङ्क्रमित थपिने गरेका छन् । यो अवस्थामा दोलखामा भने भदौ महिनासम्म साताको एक दिन शुक्रबार लगाइँदै आएको बुस्टर डोज खोप पनि अभाव भएपछि खोप अभियान नै स्थगित भएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले बुस्टर डोजका लागि खोप ल्याउन औपचारिक रुपमा भ्याक्सिन र खोपका लागि ग्लोबल एलायन्स गाभीलाई पत्र पठाएको छ । मन्त्रालयको खोप महाशाखामा खोप आएपछि मात्रै दोलखामा पनि बुस्टर डोजका लागि खोप आउनेछ ।
जिल्लाका नौ स्थानीय तहका १६ हजार ९ सय ९७ जनाले पहिलो र १६ हजार ४४ जनाले दोस्रो मात्रा खोप लगाएका छन् भने ३३ हजार ४१ जनाले तेस्रो मात्रा खोप लगाएका छन् । अझै १६ हजार ९ सय ९७ जना दोलखाली नागरिकले बुस्टर डोज खोप लगाउन बाँकी छ । तर स्वास्थ्य कार्यालय दोलखाका अनुसार बुस्टर डोज लगाउनेको सङ्ख्या धेरै भए पनि कार्यालयसँगै मौज्दाज रहेको १ हजार १ सय डोज पि–फाईजर खोपको म्याद गुज्रिएको छ ।
कार्यालयमा रहेको ९ सय ५० डोज र जिरीमा रहेको १ सय ५० डोज खोपको म्याद गत कात्तिक १३ गते नै सकिएको हो । त्यो खोप काम नलाग्ने भएको कार्यालयका प्रमुख खनालले जानकारी दिनुभयो । तोकिएको समयभित्र मानिसहरू खोप लगाउन नगएपछि ति खोप खेर गएको हो । दोलखामा सङ्क्रमणदर घटेसँगै गत भदौदेखि कोरोना परीक्षण पनि रोकिएको छ ।