स्थानीय तहको दोस्रो चरण अन्तरगत जेठ ३१ गते हुने निर्वाचनमा दार्चुलाका एक नगरपालिकासहित तीन गाउँपालिका सुरक्षाका दृष्टिले अति सम्वेदनशील रहेको सुरक्षा समितिले जनाएको छ । जिल्ला सुरक्षा समितिका अनुसार जिल्लाका नौ स्थानीय तहमध्ये मतदान केन्द्रलाई सम्वेदनशील र अतिसम्वेदनशीलमा छुट्याइएको हो ।
शैल्यशिखर नगरपालिका, नौगाड गाउँपालिका, मार्मा गाउँपालिका र मालिकार्जुन गाउँपालिकाका १० ओटा मतदान केन्द्र अतिसम्वेदनशील र १६ ओटा मतदान केन्द्र सम्वेदनशील रहेको जिल्ला सुरक्षा समितिका अध्यक्ष एवम् प्रमुख जिल्ला अधिकारी बासुप्रसाद कोइरालाले बताए ।
दार्चुलामा जम्मा १ सय २८ ओटा मतदान केन्द्र रहेका छन् । यी केन्द्रहरूमा सुरक्षाको लागि १४ स्थानमा नेपाली सेनाको शिविर राखिने पनि उनले बताए । हालसम्म नेपाली सेनाको दुर्गादल गुल्मले मालिकार्जुन गाउँपालिकाको शङ्करपुर, मार्मा गाउँपालिकाको लटिनाथ, अपि हिमाल गाउँपालिकाको खण्डेश्वरी, व्यास गाउँपालिकाको व्यास र लेकम गाउँपालिकाको खरकडामा क्याम्प राखिसकिएको छ । सुरक्षा समितिका अनुसार नेपाली सेनाले हरेक स्थानीय तहको बाहृय सुरक्षाको लागि खटिने भएको हो ।
यस्तै सशस्त्र प्रहरी सीमा सुरक्षा गुल्म दार्चुलाले शैल्य शिखर नगरपालिका, नौगाड गाउँपालिका, मार्मा गाउँपालिका, मालिकार्जुन गाउँपालिकामा क्याम्प राख्ने तयारी गरेको छ । चार ठाउँमा क्याम्प राखेर सशस्त्र प्रहरी परिचालन हुने सुरक्षा समितिले जनाएको छ ।
स्थानीय तह निर्वाचनमा चारओटै सुरक्षा अङ्गहरू परिचालन गरिएपनि तीन तहमा सुरक्षा घेरा बनाइएको छ । मतदान स्थलभित्रको सुरक्षाका लागि नेपाल प्रहरी र म्यादी प्रहरी, मतदान स्थल बाहिरको सुरक्षा सशस्त्र प्रहरी र त्यस भन्दा बाहिरको क्षेत्रमा नेपाली सेनाले सुरक्षा दिने जनाइएको छ ।
सकेसम्मको सुरक्षा प्रबन्ध मिलाउने तयारी भएको प्रमुख जिल्ला अधिकारी कोइरालाले बताए । ‘सबै क्षेत्रमा सेना पुग्छ, बाहृय पेट्रोलिङ गस्ती हुन्छ ।’-उनले भने-‘निर्वाचनमा खटिने कर्मचारी, मतदान गर्ने मतदाता, सबैलाइ निर्धक्क भएर मतदानमा सहभागी हुन आग्रह गर्दछु ।’
मुख्य निर्वाचन अधिकृत दुर्गाबहादुर भुसालले निर्वाचनमा खटिनेहरूको पूर्ण सुरक्षाको प्रबन्ध सुरक्षा समितिले गरिसकेको बताए । मुख्य निर्वाचन अधिकृतको कार्यालयले निर्वाचनको कामलाई तीव्रता दिइरहेको उनले बताए ।
दोस्रो चरणको निर्वाचनको लागि जेठ १९ गते उम्मेदवारी मनोनयन दर्ता कार्यक्रम रहेको छ । स्थानीय तहको निर्वाचनका लागि जिल्लामा एक सय २८ मतदान स्थल तोकिएका छन् भने निर्वाचनमा भाग लिन १२ ओटा दल दर्ता भएका छन् । दुई नगरपालिका र सात गाउँपालिका रहेको दार्चुलामा ७२ हजार ९ सय ६ जना मतदाता रहेका छन् ।
नेपाल सरकारको जेठ १५ गते बसेको बैठकले स्थानीय तह दोस्रो चरणको निर्वाचन मिति असार ९ गतेका लागि सार्ने निर्णय गरेपछि निर्वाचनका कार्यक्रम हेरफेर हुने बताइएको छ ।