INSEC Online

📅 २०८३ जेष्ठ २१

अमानविय कार्य गरेको अभियोगमा कैद, जरिवाना

अग्नीसाइर कृष्णसवरन गापा–२ की २७ वर्षीया पुजाकुमारी चौधरीलाई ‘बोक्सी’ भन्दै गालीगलौज र कुटपिट गरेको अभियोगमा उनका जेठाजु ५० वर्षीय रामदेव चौधरी, निजकी पत्नी ४० वर्षीया सुनितादेबी चौधरी, निजहरूका छोरा २३ वर्षीय प्रकाश चौधरी, निजकी पत्नी २२ वर्षीया बबिता चौधरी र रामदेवका भाईबुहारी ४० वर्षीया श्रीकुमारी चौधरीलाई पुस ११ गते जनही ६ महिना कैद सजाय भएको छ ।

जिल्ला न्यायाधीश डा. राजेन्द्रकुमार आचार्यको इजलाशले आरोपितहरुलाई जनही ६ महिना कैद र ५ हजार रुपियाँ जरिवाना गर्ने फैसला गरेको छ । यस्तै पीडितले आरोपितहरुबाट जनही ३ हजार रुपियाँ क्षतिपूर्ति पाउने फैसला भएको छ । रामदेवका भाइ ४० वर्षीय श्यामदेव चौधरीले अभियोग दावीबाट सफाई पाएका छन् ।

आरोपितहरुले २०७८ माघ १० गते ‘बोक्सी’ भन्दै गालीगलौज र कुटपिट गरेको भनी पीडितले इलाका प्रहरी कार्यालय कञ्चनरूपमा ०७८ माघ १२ गते उजुरी दिनुभएको थियो । आरोपितका छोराछोरी विरामी भएको दोष लगाई ‘बोक्सी’ भन्दै घरकोठामा प्रवेश गरी आरोपितहरुले तथानाम गालीगलौज र कुटपिट गरेर अमानविय कार्य गरेको पीडितले बताउनु भयो ।

इलाका प्रहरी कार्यालय कञ्चनरूपमा ०७८ माघ २० गते उजुरी दर्ता भयो । आरोपितहरूमध्ये रामदेव र सुनिता माघ २५ गते गिरफ्तार भएका थिए । जिल्ला अदालतमा ०७८ फागुन ६ गते अभियोजन पत्र दायर भएकोमा फागुन ८ गते जिल्ला न्यायाधीश रिताकुमारी बख्रेलको आदेशमा सुनीता ३० हजार रुपियाँ र रामदेव २० हजार रुपियाँ धरौटी राखेर पुर्पक्षका लागि रिहा हुनु भएको थियो ।

जिल्ला अदालतमा ०७९ जेठ ११ गते हाजिर भएका प्रकाश र बबीता जिल्ला न्यायाधीश ऋषिराम आचार्यको आदेशमा जनही १० हजार रुपियाँ धरौटी राखेर पुर्पक्षका लागि रिहा हुनु भएको थियो ।

अन्य

भिडियो