बैदेशिक रोजगारीमा गएका पतिबाटै जोखिपूर्ण व्यवहार नगरेका गृहणी महिला एचआइभी सङ्क्रमित हुने गरेको पाइएको छ ।
तिलोत्तमा नपा–१५ की आशा थापा (नाम परिवर्तन) ४३ वर्षकी हुनुभयो । बैदेशिक रोजगारीका लागि गएका पतिले धन कमाउलान र दुई सन्तानको खुशी साटौला भनेर घर सम्हालेर बसेकी आशाको आशा एकाएक निराशामा बदलियो । “फाटेको खपडाको छानोमा सिमेन्टको घर बनाउछु, दुई सन्तान र तिमीलाई सुख्ख दिन्छु भन्थे, मलाई सपना देखाएर जोवन अर्कैसँग साटेर रोगको पोको उपहार लिएर आउनु भयो ।” उहाँले भन्नु भयो । बिरामी परेपछि अस्पतालमा परीक्षण गर्दा एचआइभी सङ्क्रमित भएको थहा पाउनु भयो । उहाँ अहिले लुम्बिनी प्रादेशिक अस्पतालमा गएर नियमित औषधि सेवन गरीरहनु भएको छ ।
सबैले बलेको आगो ताप्दा रहेछन् । घर परिवार र समाजको पनि व्यवहारमा फरक भयो । साना छोराछोरीलाई पनि घृणा गरेर छिमेकीहरूले आफ्ना छोराछोरीसँग खेल्न पनि दिएनन् । एउटै स्कुलमा पढ्ने बच्चाहरूलाई स्कुल सारे । कति पीडा खेप्नु, कसरी बाँच्नु, ? कसरी समाजमा मुख देखाउनु जस्तो बनाए ।
आशामात्र होइन् आशा जस्तै सिद्धार्थनगर नपा–१२ की कविता यादव (नाम परिवर्तन) को अवस्था पनि उस्तै छ । ३६ वर्षकी कविताका पति रोजगारीको शिलशिलामा भारतको मुम्बईमा काम गर्नु हुन्छ । धन कमाउन गएका पतिले धन कमाएर ल्याउलान भन्ने आशाको त्यान्द्रोमा बसेकी कविताका पति विदामा आएको बेला बिरामी परेर उपचारका क्रममा परीक्षण गर्दा एचआईभी देखियो । कविता भन्नुहुन्छ छुट्टीमा आएको बेला बिरामी पर्नुभयो जचाउँदा एचआईभी देखियो र मलाई पनि परीक्षण गर्न सबैले सुझाव दिए परीक्षण गर्दा पनि एचआईभी देखियो ।
मेरो के दोष थियो र मलाई किन यस्तो सजाय दिएको भनेर धेरै रोए कराए । पतिलाई कुटे पनि तर के गर्नु मलाई सबैले सम्झाए त्यहि पनि गाहे भयो । बिरामी भए पनि झ्वाट डाक्टर नर्सले एचआईभी भएको भनेपछि हेर्न मान्दैन, सामान्य समस्यामा पनि अन्त्यै पठाउँछन् । के गर्नु भावीले यस्तै लेखेको थियो सायद, अहिले एआरभी सुरु गरेको पनि चार वर्ष भयो । कहिलेकाही धेरै मन आत्तिन्छ, रुदै मन बुझाउदै सन्तानको मुख हेरेर बाँचेको छु । उहाँले भन्नुभयो ।
आशा र कविता मात्र होइन एचआईभीको केन्द्रिकृत महामारीको जोखिममा परेका यस्ता धेरै व्यक्तिहरु हुनुहुन्छ । जसले आफूले जोखिम व्यवहार नगरीकन एचआईभीको मारमा परिरहेका छन् । एचआईभी विशेष गरेर असुरक्षित यौन सम्पर्क, सुईद्वारा लागु पदार्थ प्रयोगकर्ता र सङ्क्रमित रगत लिदा सर्ने गर्दछ । विभिन्न जोखिम व्यवहार गर्दा एचआईभी सर्छ भनिएपनि पतिले जोखिम व्यवहार गरेर पत्नीलाई सारेका थुप्रै घटनाहरू रहेको तथ्याङ्कले बताउँछ ।
विश्व स्वास्थ्य संगठनका अनुसार विश्वमा सन् २०२१ को अन्त्यसम्म संसारमा ३ करोड ८४ लाख व्यक्तिहरूमा एचआईभी सङ्क्रमण भएको अनुमान छ, त्यस्तै १५ लाख नयाँ सङ्क्रमण भएको अनुमान गरिएको छ । जुन सन् १९९६ को तुलनामा ५४ प्रतिशतले कम हो । सन् १९९६ मा ३२ लाख नयाँ सङ्क्रमण थियो ।
सन् २०२१ मा १ लाख ५० हजार बच्चाहरुमा नयाँ सङ्क्रमण भएको अनुमान गरिएको छ । जुन सन् २०१० को तुलनामा ५२ प्रतिशतले घटेको छ । सन् २०१० मा ३ लाख २० हजार बच्चामा नयां सङ्क्रमण भएको अनुमान थियो ।
सन् २०२१ मा मात्रै करीब ६ लाख ५० हजार व्यक्तिहरूको एड्सको कारणले मृत्यु भएको अनुमान छ, जुन सन् २०१० को तुलनामा ५२ प्रतिशतले कम हो । जबकी सन् २०१० मा १४ लाख व्यक्तिहरूको एड्सको कारणले मृत्यु भएको अनुमान थियो ।
यस्तै, एसिया प्रान्तमा सन् २०२१ को अन्तसम्म एसिया प्रशान्त क्षेत्रमा ६० लाख व्यक्तिहरूमा एचआईभी संक्रमण भएको अनुमान छ । कुल एच आई भी सङ्क्रमित मध्ये ६६ प्रतिशत (३९ लाख ६० हजार) एआरभी उपचारमा छन् । सन् २०२१ मा १४ हजार बच्चाहरूमा नयाँ सङ्क्रमण भएको अनुमान गरिएको छ । जुन सन् २०१० को तुलनामा ३३ प्रतिशतले घटेको देखिन्छ ।
राष्ट्रिय एड्स तथा यौनरोग नियन्त्रण केन्द्र टेकुको तथ्यांक अनुसार नेपालमा सन् २०२१ को अन्त्यसम्म ३० हजार व्यक्तिहरूमा एचआईभी संक्रमण भएको अनुमान छ जसमध्ये बयस्क जनसंख्याको ०.१२ प्रतिशत संक्रमण (प्रिभ्यालेन्स दर) छ । हरेक दिन दुई जना मानिसहरु एचआईभी संक्रमित हुन्छन् । सन् २०२१ मा ६ सय ८० व्यक्तिहरूमा एचआईभीको नयाँ संक्रमण भएको अनुमान गरिएको छ । जुन सन् २००० को तुलनामा ८४ प्रतिशतले घटेको छ । सन् २००० मा ४ हजार ३ सय ७० व्यक्तिहरूमा नयाँ संक्रमण अनुमान गरिएको थियो ।
सङ्क्रमितहरू अवस्था हेर्दा १६ हजार सङ्क्रमण (५३ प्रतिशत) पुरुषहरू, १३ हजार (४३ प्रतिशत) महिलाहरू, १४ वर्षमुनीका बालबालिकाह १ हजार २ सय, गर्भवती आमाहरू २ सय रहेका छन् । प्रत्येक वर्ष ६ सय ८० जना नयाँ संक्रमित थपिएको र प्रत्येक वर्ष एड्सका कारण ५ सय १० जनाको मृत्यु हुने गरेको तथ्यांकमा उल्लेख छ ।
लुम्बिनी प्रदेशमा अहिले ४ हजार ३ सय २५ जनाले एआरभी सेवा लिइरहेको प्रदेश स्वास्थ्य निर्देशनालयको तथ्याङ्क रहेको छ ।
लुम्बिनी प्रदेश स्वास्थ्य निर्देशनालयका एचआइभी फोकल पर्सन राम प्रसाद भट्टराइले प्रदेशका १२ वटै जिल्लाहरूमा एचआईभी सङ्क्रमण घटाउन र संक्रमितको उपचार र आत्माबल बढाउने गरेर काम गरिरहेको बताउनु भयो ।
उहाँले २०३० सम्ममा ९५–९५–९५ लक्ष्यहरू ९५% प्रतिशत एचआईभी संक्रमितहरूले आफ्नो सङ्क्रमण अवस्थाबारे थाहा पाउने, ती मध्ये ९५% प्रतिशतको एआरभी औषधि उपचारमा पहुँच हुने र ती औषधी खानेहरु मध्ये ९५ प्रतिशतको शरीरमा भाइरसको भार (भाइरल लोड) न्यून भएको हुने गरी सबै स्थानीय तहलाई समन्वय गरेर सन् २०२६ सम्म एचआईभी सङ्क्रमित आमाबाट बच्चामा हुने सङ्क्रमणको उन्मूलन गर्ने गर्ने गरी अभियान चलाइएको बताउनु भयो ।
राष्ट्रिय एचआइभी एडस महासंघका प्रदेश सुपरभाईजर अर्जुन ज्ञवालीले विगतको तुलनामा संक्रमितलाई गर्ने व्यवहारको विषयमा सकारात्मक परिवर्तन भएपनि उनीहरूका स्वास्थ्य अधिकार प्राप्तीका विषयमा सरकार अझ सम्वेदनशिल भएर लाग्नुपर्ने बताउनु भयो ।
ज्ञवालीले संक्रमितहरूमा विभिन्न खालका अवसरबादी रोगहरू हुने भएको र एआरटी खाने गरेका संक्रमितको प्रत्येक ६–६ महिनामा परीक्षण गर्नुपर्ने भएकोले भाइरल लोड मेसिन नहुँदा समस्या भोग्नु परेको बताउनु भयो ।