जिल्ला कारागारमा क्षमता भन्दा बढी कैदी / बन्दीलाई राख्नु पर्दा विभिन्न खालका स्वास्थ्य समस्या आउने गरेको कारागार प्रशासन रुपन्देहीले जनाएको छ ।
कारागारको क्षमता १ सय ५० भएपनि बढी कैदी / बन्दीलाई राख्नु पर्दा कैदीबन्दीहरू आधारभूत अधिकारबाट वञ्चित भएका छन् ।
हाल जिल्ला कारागारमा ४ सय ३७ जना कैदी/बन्दीहरु रहेका छन् । जसमध्ये १ सय ४३ जना कैदी र २ सय ९४ जना थुनुवाहरू रहेको जिल्ला कारागार रुपन्देहीका निमित्त प्रमुख सिहए रमेश नेपालले बताउनु भयो ।
क्षमता भन्दा दुई गुणा बढी कैदी / बन्दी राख्नु पर्दा छालाको सङ्क्रमण, दाद, लुतो जस्ता समस्याहरू आउने गरेको र गर्मीको समयमा बस्न, सुत्नलाई समेत पालो कुर्नु पर्ने बाध्यता छ ।
जीर्ण भौतिक सङ्रचनामा क्षमताभन्दा दुई गुणा बढी कैदी /बन्दी राखिएको छ भने क्षमता भन्दा बढी कैदीबन्दी राख्नु पर्दा व्यवस्थापनमा कठिनाइ भएको कारागार प्रशासनले जनाएको छ ।
कारागारको क्षमता सानो हुँदा दीर्घरोगीहरू मधुमेह र उच्च रक्तचाप जस्ता समस्या भएका बिरामीहरूले शारीरिक ब्याम गर्नबाटसमेत वञ्चित भएका छन् ।
निमित्त प्रमुख नेपालले कारागारमा देखिएको समस्या समाधानकालागि पहल भइरहेको भए पनि समाधान हुन नसकेको, कैदी /बन्दीहरूलाई दैनिक दिइने ७ सय ग्राम चामल र ६० रूपियाँ महङ्गी अनुसार कम भएको बताउनु भयो ।