INSEC Online

📅 २०८३ जेष्ठ २१

हत्या घटनाका आरोपित वडाध्यक्ष पुर्पक्षका लागि कारागार चलान

त्रिबेणी नगरपालिका–७ का वडाध्यक्ष जुद्धबहादुर अयडीलाई जिल्ला अदालत, बाजुराले मङ्सिर ५ गते निलम्बन गरी पुर्पक्षका लागि जिल्ला कारागार पठाएको छ ।

मङ्सिर ४ गते भएको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका दिन त्रिवेणी नगरपालिका–७ का चेतन अयडी हत्या प्रकरणमा गिरफ्तारीमा पर्नु भएका वडाध्यक्ष अयडीलाई पुस ५ गते जिल्ला अदालतका न्यायाधीश ढाकाराम पौडेलको एकल इजलासले पुर्पक्षका लागि जिल्ला कारागार, बाजुरा पठाउने आदेश दिएको हो ।

वडाध्यक्ष अयडी थुनछेक आदेश मार्फत कारागार पठाएपछि उहाँ वडाध्यक्षबाट स्वत निलम्बनमा पर्नु भएको निर्वाचन आयोगका उपन्याधिवक्ता गुरुप्रसाद वाग्लेले बताउनु भयो ।

जिल्ला अदालत, बाजुरा श्रेष्तादार पुष्पराज पाण्डेले वडाध्यक्षलाई थप अनुसन्धानका लागि कारागार पठाइएकोले हाललाई निलम्बनमा रहनु भएको र  घटनामा संलग्नता नरहेको प्रमाणीत भई सफाइ पाएको खण्डमा पुनः निलम्बन फुकुवा हुने बताउनु भयो ।

पुस ५ गते जिल्ला अदालत, बाजुराले थुनछेक आदेश मार्फत वडाध्यक्ष अयडी लगायत अन्य नौ जना घटनाका आरोपितलाई पुर्पक्षका लागि कारागार चलान गरेको श्रेष्तेदार पाण्डेले बताउनु भयो ।

चेतन अयडी हत्या आरोपमा मृतकका बुवा गगन अयडीले २४ जना विरुद्ध जन्मकैद माग दाबी सहित जिल्ला अदालत, बाजुरामा उजुरी दर्ता गरेका थिए ।

पीडित पक्षले २४ जनाको नाममा किटानी जाहेरी दिएको भएपनि हाल १० जनालई गिरफ्तार गरिएको र फरार १४ जनाको खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालयका डिएसपी सुर्य थापाले बताउनु भयो ।

उहाँले गिरफ्तार गरिएका मध्ये एक जना मुटुको उपचारमा रहेकाले नौ जनालाई मात्रै जिल्ला अदालत पेश गरिएको र  फरार रहेका अन्य १४ जनालाई ३० दिन भित्र अदालतमा हाजिर हुन पत्रचारसँगै वारेन्ट जारी गरिएको बताउनु भयो ।

त्रिवेणी नगरपालिका वडा नम्बर ७ मा रहेको नाटेश्वरी मन्दिरमा प्रवेश गरी पूजापाठ गरेको भन्दै वडाध्यक्ष जुद्ध अयडील टेकेन्द्रसिंह सुनारलाई कुटपिट गरेको घटनामा १ लाख धरौटीमा दुई महिना अगाडी मात्रै रिहा भएका थिए ।

नेपाली कांग्रेसको तर्फबाट स्थानीय तह निर्वाचनमा अयडी वडाध्यक्षमा निर्वाचित हुनु भएको थियो ।

अन्य

भिडियो