जिल्ला कारागार, कञ्चनपुरमा क्षमता भन्दा पाँच गुणा बढी कैदीबन्दी राखिएका कारण व्यवस्थापनमा समस्या उत्पन्न भई कैदीबन्दीहरुले सास्ती खेप्नु परेको छ ।
२० जना महिला सहित ९५ जनाको क्षमता रहेको जिल्ला कारागारमा हाल ४ सय ३६ जना कैदीबन्दीलाई राखिएका कारण कैदीबन्दीहरुले सास्ती खेप्नु परेको हो ।
जिल्ला कारागार, कञ्चनपुरका चौकीदार प्रकाश मल्लले क्षमता भन्दा पाँच गुणा बढी कैदीबन्दी राखिए कै कारण शौचालय जानका लागि पालो कुरेर बस्नु पर्ने बाध्यता भएको गुनासो गर्नु भयो ।
उहाँले भन्नु भयो– ‘४ सय ३६ जना कैदीबन्दी छन् । तर, पुरुषको लागि १२ र महिलाको लागि दुई ओटा मात्रै शौचालयको व्यवस्था गरिएको छ । शौचालय जानकै लागि घण्टौँ पालो कुरेर बस्नु पर्ने बाध्यता छ ।’
कारागारका नाईके सञ्जय थापाले क्षमता भन्दा बढी कैदीबन्दी राखिएका कारण सुत्न, खान, कपडा धुन, नुहाउन, शौचालय जान तथा खानेपानीलगायतका अत्यावश्यक सेवाबाट वञ्चित हुनु परेको गुनासो गर्नु भयो ।
उहाँले भन्नु भयो– ‘कोठामा कोचिएर बस्न समेत पाइएको छैन् । सुत्नका लागि पालो कुरेर बस्नु पर्ने अवस्था छ । लामखुट्टेको टोकाई पनि उतिकै छ । फोहर धेरै हुन्छ । कारागार भित्र स्वास्थ्य सुरक्षाका मापदण्डको पालना हुन सकेको छैन् । ज्यान जोखिममा राखेर बस्नु पर्ने बाध्यता छ ।’
सरकारले कारागार सुधारमा ध्यान नदिएका कारण कैदीबन्दीहरुले सास्ती खोप्नु परेको कैदी टेकराज जोशीले गुनासो गर्नु भयो ।
उहाँले भन्नु भयो– ‘समयमै खाना खान पाइएको छैन् । खाना खाने, सुत्ने र शौचालय जाने समयमा घण्टौँसम्म पालो कुर्नु पर्ने बाध्यता छ । कारागार जीर्ण अवस्थामा रहेका कारण पानी परेको समयमा चुहिएर बस्न सकिदैन् । कारागार परिसर भित्रै पालमा समेत कोचिएर बस्नु पर्ने स्थिति छ । कारागार भित्र खेलकुदका सामाग्री भए पनि खेल्ने ठाँउ छैन् । मनोरञ्जनका साधानहरु र पुस्तकहरु समेत छैनन् । यसमा सम्बन्धित निकायको ध्यान जाओस् ।’
सरकारले कारागारलाई सुधार गृहका रुपमा परिभाषित गरेको भएपनि त्यस अनुसारका कार्यक्रम तथा व्यवस्थापन नगरि दिएका कारण कैदीबन्दीहरुले नरकिय जिवन बिताउन पर्ने बाध्यता भएको सिनेयर अहेब भानदेव जोशीले बताउनु भयो ।
कैदी भगवती चौधरीका अनुसार कैदीबन्दीहरुका लागि चाहिने न्यूनतम सुविधा समेत छैन् । समयमै खान खान नपाएपछि घरबाटै खाना मगाएर खानु परेको छ ।
जिल्ला कारागार, कञ्चापुरका प्रमुख माया बस्नेतले कारागारको क्षमता २० जना महिलासहित ९५ जनाको मात्रै भएको भएपनि हाल ४ सय ३६ जना कैदीबन्दीहरुलाई राख्नु पर्दा व्यवस्थापनमा समस्या उत्पन्न भएको बताउनु भयो ।
उहाँले भन्नु भयो– ‘कारागारमा बस्ने कोठाको अभाव हुँदा एउटा सानो कोठामा १५ देखि २० जना र ठुलो कोठामा ४० देखि ५० जना कैदीबन्दीहरुलाई सँगै राख्दै आएका छौँ । कैदीबन्दीहरुलाई बस्न र सुत्न समस्या भएको छ । कारागार भवन निर्माण गर्नका लागि सम्बन्धित निकायमा पत्रचार गरिएको छ ।
गत मङ्सिर ४ गते सम्पन्न भएको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा जिल्ला कारागार, कञ्चनपुरका २९ जना कैदीबन्दीहरुले मतदान गर्न पाएका थिए ।