जिल्ला कारागारमा क्षमता भन्दा बढी कैदीबन्दीलाई राख्नु पर्दा समस्या भएको सम्बन्धित जिल्ला कारागार प्रशासनले जनाएका छन् ।
कारागारको क्षमता भन्दा बढी कैदीबन्दीलाई राख्नु पर्दा कैदीबन्दी आधारभूत अधिकारबाट समेत वञ्चित भएको कारागार प्रशासनको भनाइ छ ।
भोजपुर प्रतिनिधि गणेश विष्टका अनुसार जिल्लाका कारागारमा क्षमता भन्दा दुई गुणा बढी कैदीबन्दी राख्नु पर्दा कैदीबन्दीलाई खान बस्न समस्या भएको छ ।
जीर्ण भौतिक संरचनामा क्षमताभन्दा दुई गुणा बढी कैदीबन्दी राखिएको छ । क्षमताभन्दा बढी कैदीबन्दी राख्नु पर्दा व्यवस्थापनमा कठिनाइसँगै जोखिम मोल्नु परेको जिल्ला कारागारले जनाएको छ ।
कारागारको क्षमता ३० जना पुरूष र १० जना महिलाको भएपनि हाल कारागारमा चार जना महिलासहित ८६ जना कैदीबन्दी राख्नु परेको जेलर अनिल खड्काले बताउनु भयो ।
क्षमता भन्दा बढी कैदीबन्दी भएपछि विद्युत, खानेपानी, सुत्न र स्वास्थ्य उपचारमा समस्या सबै भन्दा बढी समस्या भएको जेलर खडकाको भनाइ छ ।
कारागारमा एक जना अहेबको दरबन्दी छ । तर त्यो पनि एक वर्ष देखि रिक्त छ । दरबन्दी अनुसारको स्वास्थ्यकर्मी नहुँदा कैदीबन्दीको उपचारमा समस्या हुने गरेको जेलर खड्काको भनाइ छ ।
कारागारका जेलर खड्काले भन्नुभयो ‘कारागारमा एक जना अहेबको दरवन्दी छ त्यो पनि एक बर्ष देखि खाली छ । कैदीबन्दीको स्वास्थ्य जाँचका लागि समेत जिल्ला अस्पताल लानु पर्ने बाध्यता छ ।’
प्रमुख जिल्ला अधिकारी हरिप्रसाद घिमिरेले कारागारमा देखिएको समस्या समाधानका लागि पहल भइरहेको बताउनु भयो ।
प्रमुख जिल्ला अधिकारी घिमिरेले कारागारमा क्षमता भन्दा बढी कैदीबन्दी हुँदा तथा स्वास्थ्यकर्मी नहुँदा समस्या भएको विषयमा प्रशासन जानकार रहेको र समस्या समाधानका लागि पहल भइरहेकोे बताउनु भएको छ ।
ओखलढुङ्गा प्रतिनिधि सरस्वती बानियाका अनुसार जिल्ला कारागारमा क्षमता भन्दा तीन गुणा बढी कैदी हुँदा व्यवस्थापनमा कठिनाइ भएको छ ।
कारागारको क्षमता जम्मा ३० जनाको रहेकोमा हाल क्षमता भन्दा ३ गुणा बढी ९४ जना कैदीबन्दी छन् । जसमा कैदी ५८ र बन्दी ३६ जना छन् । कारागारमा ८८ जना पुरूष, छ जना महिला र एक जना आश्रित बालिका गरी ९५ जना रहेको जिल्ला कारागारका निमित्त जेलर नरेन्द्रलाल कर्णले बताउनु भयो ।
क्षमता भन्दा बढी कैदीबन्दी राख्नुपर्दा व्यवस्थापनमा समस्या भएको कर्णको भनाइ छ । कारागारमा ६० वर्ष नाघेका १० जना ज्येष्ठ नागरिक (पुरूष) छन् । कैदीबन्दीको सङ्ख्या बढी हुँदा खानेपानीको र शौचालयको व्यवस्थापनमा समस्या छ ।