तीन जना बालिकालाई बलात्कार गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय बागलुङले पोखराका तीन जना युवालाई बागलुङबाट गिरफ्तार गरेको छ ।
दुई जना १५ र एकजना १६ वर्षिया बालिकालाई बागलुङ बजारको होटलमा मङ्सिर २३ र २४ गते बलात्कार गरेको आरोपमा प्रहरीले धादिङ घर भई पोखरा महानगरपालिका–८ बस्ने १९ वर्षीय सन्दीप तामाङ, गुल्मी घर भई पोखरा–१७ बस्ने १९ वर्षीय राहुल तामाङ र बागलुङको गलकोट घर भई पोखरा–८ सिर्जनाचोक बस्दै आएका २५ वर्षीय अशोक दर्लामीलाई गिरफ्तार गरेको हो ।
मङ्सिर २४ गते परिवारमा कसैलाई नसोधी निस्किएका बालिकाहरू घर नफर्किएपछि खोजी गर्दा बागलुङ नगरपालिका–२ स्थित होटलमा २५ गते फेला परेका थिए ।
बालिकाहरूलाई बलात्कार गरि फरार भएका सन्दीप र राहुललाई प्रहरीले बागलुङ बजार र अशोकलाई काठेखोला गाउँपालिकाबाट २६ गते गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालय बागलुङका डिएसपी गंगाबहादुर थापाले जानकारी दिनुभयो ।
बालिकाहरूको मङ्सिर २५ गते धौलागिरी अस्पताल बागलुङमा स्वास्थ्य परिक्षण गरिएको छ ।