INSEC Online

📅 २०८३ जेष्ठ २२

विजय जुलुसमा सहभागीले ढुङ्गा मुढा गरेको आरोपमा चक्का जाम

सिरहा क्षेत्र नं. ३ मा प्रतिनिधि सभा सदस्यमा विजयी भएका एमालेका लिलानाथ श्रेष्ठको विजय र्‍यालीमा सहभागी कार्यकर्ताहरुले मङ्सिर ९ गते नेकपा माओवादी उम्मेदवार तथा निकटतम प्रतिद्वन्दी विश्वनाथ साहको गोलबजारस्थित दाजुको घरमा ढुङ्गामुढा गरेको आरोपमा नेकपा माओवादीका कार्यकर्ताहरुले सिरहाको गेलबजारमा मङ्सिर १० गते बिहान सडक अबरुद्ध गरेका छन् ।

गोलबजार नगरपालिकाका पूर्व मेयर देवनाथ साहको गोलबजार नगरपालिका–४ स्थित घरमा ढुङ्गामुढा र एक जनालाई कुटपिट गरेको विरोधमा स्थानीय व्यसायी तथा नेकपा माओवादीका नेता तथा कार्यकर्ताहरुले विहान देखि बजार तथा सडक जाम गरेका थिए ।

एमाले कार्यकर्ताको ढुङ्गामुढाबाट पूर्व मेयर साहको घरको झ्यालको सिसा फुटाउनुका साथै त्यसो नगर्न आग्रह गरेका स्थानीय ४३ वर्षीय श्रीचन साहलाई कुटपिट गर्दा उनको टाउकोमा चोट लागेको छ । उनको टाउकोमा चार ओटा टाँका लागेको र हाल गोलबजारस्थित लाइफ लङ्ग अस्पतालमा उपचार भएको छ ।

सडक अबरुद्धका कारण पूर्वमा–पश्चिम राजमार्गको गोलबजार क्षेत्रमा लामो तथा छोटो दूरीका सयौँ सवारी साधन रोकिएका थिए भने प्रदर्शनकारीहरुले गोलबजारमा रहेको प्रहरी बिट पनि भत्काएका थिए ।

घटनाको विरोधमा नेकपा माओवादी केन्द्र, सिरहाका जिल्ला इञ्चार्ज अजयशङ्कर नायकले मङ्सिर १० गत प्रेस विज्ञप्ति जारी गर्दै जितको उन्मादमा गरिएको गुण्डागर्दीको निन्दा र भत्र्सना गर्दै तत्काल घटनामा संलग्न व्यक्तिलाई कानुनी कारबाहीको लागि स्थानीय प्रशासनसँग माग गरेका छन् ।

नेकपा एमालेका नेता तथा नवनिर्वाचित प्रतिनिधि सभा सदस्य लिलानाथ श्रेष्ठले घटनाप्रति दुःख व्यक्त गर्दै प्रेस विज्ञप्ती जारी गर्दै घटनामा संलग्नहरुलाई तत्काल गिरफ्तार गरी सजायको माग गरेका छन् ।

इलाका प्रहरी कार्यालय गोलबजारका इन्स्पेक्टर राजु केसीका अनुसार घटनामा संलग्नलाई कारवाही गर्ने सहमति भएपछि अबरुद्ध सडक खुलेको र पीडित पक्षबाट उजुरी आए कारवाही प्रकृया अगाडि बढाउने बताउनु भयो ।

अन्य

भिडियो