बुढीनन्दा नगरपालिका–५ नन्देश्वरी मावि मतदान केन्द्रमा मङ्सिर ४ गते स्थगित भएको मतदान कार्य मङ्सिर १० गते निर्धारित समय भित्रै शान्तिपूर्ण रुपमा सम्पन्न भएको छ ।
९ सय ९९ मतदात रहेको नन्देश्वरी मावि मतदान केन्द्रमा २ सय ८५ जना महिला सहित ५ सय ९७ जनाले मतदान गरेको मुख्य निर्वाचन अधिकृत ढाकाराम पौडेलले बताउनु भयो ।
बिहान ७ बजेदेखि सुरु भएको मतदान कार्य साँझ ५ बजे भित्रै शान्तिपूर्ण रुपमा सम्पन्न भएको मुख्य निर्वाचन अधिकृत पौडेलले बताउनु भयो ।
मतपेटीकाहरु आज राति नै सदरमुकाम ल्याउने व्यवस्था भइरहेको समेत मुख्य अधिकृत पौडेलले बताउनु भयो । मतदान केन्द्र सदरमुकाम मार्तडीदेखि पाँच घण्टाको दुरीमा रहेको छ ।
मङ्सिर ४ गते मतदान कार्य भइरहेको अवस्थामा नेपाली कांग्रेस र नेकपा एमालेका कार्यकर्ता बीच झडप भएपछि मतदान कार्य स्थगित गरिएको थियो ।
निर्वाचन अधिकृतको प्रतिवेदनका आधारमा स्थगित गरिएको मतदान कार्य मङ्सिर १० गते पुनः सञ्चालन गर्न निर्वाचन आयोगले मङ्सिर ७ गते सूचना जारी गरेको थियो ।
मतदान केन्द्रमा सुरक्षा व्यवस्था कडा परिएको छ । नेपाल प्रहरी, शसस्त्र प्रहरी र नेपाली सेना गरी ५ सय बढी सुरक्षाकर्मीको कडा कुरक्षा व्यवस्था बीच मतदान कार्य शान्तिपूर्ण रुपमा सम्पन्न भएको जिल्ला प्रहरी कार्यालयका सई इश्वर नायकले बताउनु भयो ।
मतगणना कार्य स्थगित
मङ्सिर ४ गते भएको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा नेपाली कांग्रेसले १६ ओभटा मतदान केन्द्रमा बुध कब्जा गरी धाँधली गरेका भन्दै नेकपा एमालेले र आठ ओटा मतदान केन्द्रमा नेकपा एमालेले बुथ कब्जा गरी धाँधली गरेको भन्दै नेपाली कांगेसले पुन मतदानको माग राखेर निर्वाचना कार्यालयमा निबेदन दिएपछि जिल्लाको मतगणना कार्य सुनिश्चित हुन सकेको छैन् ।
प्रमुख निर्वाचन अधिकृत ढाकाराम पौडेलले नेपाली कांग्रेस र नेकपा एमालेले दिएका निबेदनलाई निर्वाचन आयोगमा पठाएपछि निर्वाचन आयोगका सहसचिव तुलशी श्रेष्ठको नेतृत्वमा तीन सदस्ययी टोलीले जिल्लास्थित राजनीतिक दल, मतदान अधिकृत, सुरक्षा प्रमुखलाई भेटेर मतदानको बारेमा बुझिरहेको बताउनु भयो ।
उहाँले निर्वाचन आयोगको टोलीले दिएको प्रतिबेदनका आधारमा पुनः मतदान गर्ने वा मतणना सुरु गरिने निर्णय गरिने मुख्य निर्वाचन अधिकृत पौडेलले बताउनु भयो ।


