त्रिवेणी नगरपालिका–७ स्थित नाटेश्वरी आधारभुत विद्यालयमा रहेको मदतानस्थलमा भएको विवादका कारण मृत्यु भएका दुवै जनाको शव चार दिन बितिसक्दा समेत पीडित पक्षले बुझेका छैनन् ।
मङ्सिर ४ गते नाटेश्वरी आधारभुत विद्यालयमा रहेको मदतानस्थलमा विवाद हुँदा सुरक्षाकर्मीले चलाएको गोली लागेर सञ्जीव अयडीको मृत्यु भएको थियो । घटना भएको चार दिन बितिसक्दा समेत सञ्जिवको शव नाटेश्वरी आधारभुत विद्यालयमा नै रहेको छ ।
सञ्जिव अयडीको मृत्युपश्चात आवेगमा आएका नेपाली कांग्रेसका कार्यकर्ताहरूको कुटपिटबाट घाइते हुनु भएका चेतन अयडीको उपचारको क्रममा मङ्सिर ४ गते मृत्यु भएको थियो ।
अनेरास्ववियुका केन्द्रीय सदस्य अयडीको शव बयलपाटा अस्पतालबाट मङ्सिर ६ गते जिल्ला अस्पतालको शव गृहमा ल्याइएको छ । अहिलेसम्म दुवै शवको दाहसंस्कार हुन सकेको छैन ।
कांग्रेसका कार्यकर्ताले मतपेटिका खोस्न खोज्दा उत्पन्न विवादपछि झडप हुँदा प्रहरीले गोली चलाएको प्रहरीको भनाइ छ ।
सञ्जिवको छातिमा गोली लागेर घटनास्थलमै मृत्यु भएको थियो । सञ्जिवको मृत्युपछि आवेगमा आएका कांग्रेसका कार्यकर्ताले चेतनलाई घरमा गएर कुटपिट गरेका थिए ।
मतदान केन्द्रमा भएको झडपमा प्रहरी हवल्दार कृष्ण कुँवर, स्थानीय पर्शुराम पाध्याया र खडक अयडी घाइते हुनु भएको थियो ।
प्रमुख जिल्ला अधिकारी प्रकाशचन्द्र अधिकारीले शव उठाउनका लागि पहल भइरहेको बताउनु भयो ।
अनेरास्ववियूका केन्द्रीय सदस्य चेतनको हत्यामा संलग्न भएको आरोपमा २२ जनाको नाममा किटानी उजुरी आएको र घटनाको अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका डिएसपी सुर्य थापाले बताउनु भयो ।
उहाँले किटानी उजुरीमा उल्लेख गरिएका व्यक्तिहरूलाई गिरफ्तार गर्ने प्रक्रिया अगाडि बढाउने तयारी भइरहेको बताउनु भयो ।
नेकपा एमालेले चेतन अयडीको हत्यामा संलग्न व्यक्तिहरूलाई गिरफ्तार नगरेसम्म शव नबुझ्ने र प्रहरीको गोली लागि मृत्यु भएका सञ्जीव अयडीको हत्या सम्बन्धमा सत्यतथ्य पत्ता लगाएर दोषिलाई कारवाही गरी परिवारलाई न्याय दिनु पर्ने अडान राखेको छ ।
मतगणना सुरु हुन सकेन
मङ्सिर ४ गते सम्पन्न भएको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको मतगणना सुरु हुन सकेको छैन । बुढीनन्दा नगरपालिका–५ को नन्देश्वरी माविको मतदान केन्द्रमा नेकपा एमाले र नेपाली कांग्रेसका कार्यकर्ता बीच दोहोरो झडपपछि मतदान कार्य स्थगित भएपछि मतगणना रोकिएको हो ।
जिल्लाका ७० ओटा मतदानस्थलका १ सय १२ ओटा मतदान केन्द्रबाट मतपेटीका जिल्ला प्रशासन कार्यालयको नवनिर्मित भवनमा राखिएका छन् । बुढीनन्दा नगरपालिका–७ को नन्देश्वरी मावि मतदान स्थलमा नेकपा एमाले र नेपाली कांग्रेसका कार्याकर्ता बीच दोहोरो झडक हुँदा बिहान ९ बजे नै मतदान स्थगित भएको थियो । उक्त मतदानस्थलमा २८ ओटा मत मात्र खसेका थिए ।
झडप नियन्त्रण हुन नसकेपछि निर्वाचन अधिकृत र राजनीतिक दलहरुको सर्बपक्षीय बैठक बसेर मतदान स्थगित गर्ने निर्णय भएको मुख्य निर्वाचन अधिकृत्त ढाकाराम पौडेलले बताउनु भयो ।
सर्बपक्षीय बैठकले गरेको निर्णयसँगै मतदान अधिकृतको प्रतिबेदनलाई निर्वाचन आयोगमा पठाएको छ । पुनः मतदान हुने निर्णय निर्वाचन आयोगले पठाएको छैन । निर्वाचन आयोगले निर्णय गरेपश्चात स्थगित निर्वाचन केन्द्रमा पुनः निर्वाचन भएपछि मतगणना सुरु हुने पौडेलले बताउनु भयो ।
नेपाली कांग्रेसले नेकपा एमाललेले आठ ओटा मतदानस्थलमा धाधली र बुथ कब्जा गरेको भन्दै नेपाली कांग्रेसबाट र नेपाली कांग्रेसले १८ ओटा मतदानस्थलमा धाधली र बुथ कब्जा गरेको भन्दै नेकपा एमालेले निवेदन दिएको मुख्य निर्वाचन अधिकृत ढाकाराम पौडेल बताउनु भयो ।
उहाँहरुले उक्त मतदानस्थलमा पुनः मतदान गर्नु पर्ने माग राख्नु भएकोले निवेदनहरु निर्वाचन आयोगमा पठाइएको भएपनि अहिलेसम्म निर्वाचन आयोगको निर्णय नआएको मुख्य निर्वाचन अधिकृत पौडेले बताउनु भयो ।
जिल्लामा ४० हजार ५ सय ३७ महिला र दुई अन्य गरी ८२ हजार ८ सय ९० मतदाता रहेकामा २९ हजार ५ सय १६ महिला सहित ५१ हजार १ सय ८६ जनाले मतदान गरेका छन् । जसमा बुढीनन्दा नगरपालिका–७ मा खसेको २८ मतको सङ्ख्या उल्लेख गरिएको छैन ।