INSEC Online

📅 २०८३ जेष्ठ २१

आयोगद्वारा स्थानीय तह निर्वाचनको समीक्षा

राष्ट्रिय मानव अधिकार आयोगको टोलीले वैशाख ३१ गते भएको स्थानीय तह निर्वाचनको क्रममा दैलेखमा देखिएका समस्याका विषयमा निर्वाचन पर्यवेक्षणमा सहभागी प्रतिनिधि, मानव अधिकारकर्मी र पत्रकारसँग जेठ ३ गते दैलेखको सदरमुकाममा समीक्षा गरेको छ ।

समीक्षाका क्रममा सहभागीहरूले मतदाता शिक्षा प्रभावकारी हुन नसकेको, परिचय पत्र वितरण प्रक्रिया व्यवस्थित नभएको, मतदाता नामावलीमा नाम भएर पनि परिचय पत्र प्रिन्ट भई नआएकोमा व्यवधान सिर्जना भएको, मतपत्रको रङ्ग र स्वस्तिक छाप लगाउने मसी एकै रङ्को हुँदा मतगणनामा अलमल परेको जस्ता समस्या जनाएका थिए ।

निर्वाचनमा सहभागी उम्मेदवारको नामावली देखि तथ्याङ्क, तत्सम्बन्धी सूचनाहरू, मतगणना स्थलमा पत्रकारहरूलाई सहज र सहयोगी व्यवहार नपाएको दैलेखका स्थानीय पत्रकारहरूले आयोगको टोलीसँग गुनासो गरेका थिए ।

राष्ट्रिय मानव अधिकार आयोग क्षेत्रीय कार्यालय नेपालगञ्जका मानव अधिकार अधिकृत द्वारिकादेवी अधिकारी, विजया उप्रेतीको टोलीले एक हप्तादेखि निर्वाचन प्रचार समयमा आचारसहिंता पालनाको अवस्था, मतदान प्रक्रियादेखि मतगणनाको क्रममा भइरहेका गतिविधिको अनुगमन गरिरहेको छ ।

दैलेखका ११ स्थानीय तहमा भएको निर्वाचनमा जेठ ३ गते बिहानसम्म चार वटा नतिजा आइसकेको र जेठ ४ गतेसम्म सबै स्थानीय तहको नतिजा आइसक्ने मुख्य निर्वाचन अधिकृत प्रकाशप्रसाद पण्डितले जानकारी दिएका छन् ।

अन्य

भिडियो