काठमाडौँको प्रतिनिधि सभा निर्वाचन क्षेत्र न. ५ अन्तर्गत बुढानिलकण्ठमा भेटिएको शङ्कास्पद वस्तु नेपाली सेनाको टोलीले निष्कृय पारेको छ ।
मङ्सिर २ गते बिहान साढे २ बजेतिर सशस्त्र प्रहरीको टोलीले बुढानिलकण्ठ नगरपालिका–७ स्थित स्पेसल चोकमा प्रेसरकुकर बम भेटेपछि नेपाली सेनाको बम डिस्पोजल टोलीलाई खबर गरेको थियो ।
नेपाली सेनाको बम डिस्पोजल टोलीले बम निष्कृय पारेको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एसपी दिनेशराज मैनालीले जानकारी दिनुभयो ।
यसैगरी काठमाडौँ महानगरपालिका–५ हाँडीगाउँमा पनि बिहान ३ बजे भेटिएको शङ्कास्पद वस्तु पनि नेपाली सेनाको टोलीले निष्कृय पारेको छ ।
हाँडीगाउँ स्थित भत्केकोपुल जाने बाटोमा प्रेसर कुकरमा तार जोडेर राखेको अवस्थामा भेटिएको शङ्कास्पद वस्तु नेपाली सेनाको टिमले निष्कृय पारेको हो ।
दुवै घटनाबारे जिल्ला प्रहरी परिसर काठमाडौँले अनुसन्धान गरिरहेको र घटनामा संलग्न आरोपितहरूको खोजि कार्य जारी रहेको एसपी मैनालीले इन्सेक प्रतिनिधिलाई जानकारी दिनुभयो ।