INSEC Online

📅 २०८३ जेष्ठ २२

जुम्लामा निर्वाचन सामग्री बोकेको जिप दुर्घटना, आठ जना घाइते

जुम्लामा मतदान स्थलतर्फ जाँदै गरेको जिप मङ्सिर १ गते दुर्घटना भएको छ । निर्वाचन सामग्रीसहित मतदान स्थलतर्फ जाँदै गरेको भे १ च २१८८ नम्बरको जिप दुर्घटना भएको हो । जिपमा सवार आठ जना घाइते भएका हुन् ।

जिल्ला प्रहरी कार्यालय जुम्लाका इन्स्पेक्टर धर्मराज जोशीका अनुसार तिला गाउँपालिका– ४ स्थित रावतवाडामा ताम्ती मतदान स्थलतर्फ जाँदै गरेको जिप दुर्घटना भएको हो । एक मतदान अधिकृत, एक सहायक मतदान अधिकृत, तीन प्रहरी दुई अन्य कर्मचारी र एक कार्यालय सहयोगी घाइते भएका उहाँले जानकारी दिनुभयो ।

निर्वाचनमा खटिएका कार्यालय सहयोगी चन्दननाथ नगरपालिका–१० का अंगराज गिरी, मतदान अधिकृत हरिप्रसाद देवकोटा, तातोपानी गाउँपालिका–४ का सहायक मतदान अधिकृत आदिप्रसाद न्यौपाने, प्रहरीहरू सल्यानका शुरज चन्द, धादिङका सिताराम दमाई, कालिकोटका राजेन्द्र विष्ट, तातोपानी गाउँपालिका–५ की आशा चौलागाई र तातोपानी गाउँपालिका–४ का सुरेश सार्की समेत आठ जना घाइते भएका छन् ।

घाइते मध्ये अंगराज, आदिप्रसाद र शुरज चन्दको अवस्था जटिल रहेको अस्पताल स्रोत जनाएको छ । घाइतेहरूको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा उपचार भइरहेको प्रमुख जिल्ला अधिकारी मुकेशकुमार केशरीले बताउनुभयो । उहाँले भन्नुभयोे उक्त मतदान स्थल रहेको विद्यालयमा नयाँ कर्मचारी खटाईएको छ ।

अन्य

भिडियो