स्थानीय तहको निर्वाचनमा मतदान गर्न घर आएका व्यास नपा-१ निवासी ४० वर्षीय विक्रम परियारको अज्ञात व्यक्तिहरूको समूहले खुकुरी प्रहार गरी हत्या गरेको छ ।
काठमाडौँमा गायन पेशा गरी बसेका परियार स्थानीय तह निर्वाचनमा मतदान गर्न वैशाख २९ गते घर आएका परियारको वैशाख ३१ गते साँझ हत्या भएको प्रहरीले जनाएको छ ।
मतदान पश्चात् आफ्नो साथीसँग सोही वडाको छाला कारखाना तिर घुम्न गएका परियारको दुई युवा समूहबिच झगडा भएको देखेपछि छुट्याउन जाँदा हत्या भएको थियो ।
युवाहरूको आक्रमणबाट टाउकोमा गम्भीर चोट लागेका परियारलाई स्थानीयबासीले उपचारको लागि रत्नहरि अस्पतालमा पुर्याउने वित्तिकै चिकित्सकले मृत घोषणा गरेका थिए । सोही घटनामा परियारसँगै रहेका व्यास नपा-१ निवासी ४४ वर्षीय बुद्धिनारायण श्रेष्ठ घाइते भएका छन् ।
टाउकोमा चोट लागेका श्रेष्ठलाई रत्नहरि अस्पतालमा प्रारम्भिक उपचार पश्चात् थप उपचारको लागि मणिपाल अस्पताल पोखरामा लगिएको छ ।
झगडा हुनुको कारणका बारेमा अझैसम्म केही जानकारी नभएको र घटनामा संलग्नहरूको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालयका इन्सपेक्टर विजयराज पण्डितले बताए ।