पौवादुङ्मा गाउँपालिका–२ तिवारी भञ्याङमा गठवन्धनले आयोजना गरेको चुनावी सभामा आँफैले बोकेको बम विष्फोट हुँदा अरूण गाउँपालिका–४ चरम्वीका सुमन श्रेष्ठ घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालयका डिएसपी शरद थापा क्षेत्रीले बम विष्फोटमा परी श्रेष्ठ घाइते भएको पुष्टि गर्नु भएको छ ।
घाइतेको स्थानीय स्वास्थ्य चौकी तिवारी भञ्याङमा उपचार भइरहेको छ ।
गठवन्धनले आयोजना गरेको चुनावी आमसभामा प्रतिनिधिसभाका उम्मेदवार सुदन किराँती, प्रदेशसभाका उम्मेदववार राजेन्द्रकुमार राईलगायतले सम्बोधन गरेका छन् ।
चुनावी सभालाई नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सम्बोधन गर्ने भनिए पनि प्रचण्ड कार्यक्रममा पुग्नु अघि नै बम विष्फोट भएको हो ।

कात्तिक ३० गते अपरान्ह ३ बजे टाइम बम विष्फोट भएको भनिएपनि कुन प्रकारको बम हो पुष्टि हुन बाँकी छ । आँफैले बोकेको बम पड्किएको स्थानीयले बताएका छन् ।
चुनावीसभा नजिकै बम विष्फोट भएपनि कार्यक्रम जारी छ ।
घटनास्थलमा भएका पत्रकार राजन साम्पाङ राईले बम विष्फोटमा परी घाइते भएका सुमन श्रेष्ठ नेपाल कम्युनिष्ट पार्टी (विप्लव) का कार्यकर्ता भएको जानकारी दिनु भएको छ ।
विप्लवका केन्द्रीय सदस्य पुष्पबहादुर कोइरालाले पार्टीले चुनाव बहिष्कारको नीति लिएको भएपनि बम विष्फोट गराएर आतङ्क नफैलाउने र सो घटनामा विप्लवको संलग्नता नरहेको बताउनु भएको छ ।