हिमा गाउँपालिका–७ खलढुङ्गाका सूर्य अधिकारी ह्वीलचियरमा आवतजावत गर्ने अपाङ्गता भएका व्यक्ति हुन् । यस्तै चन्दननाथ नगरपालिका–५ कालेखोलीका मोहन शाही र विष्णुमाया श्रेष्ठ ह्वीलचियरमा आवतजावत गर्ने व्यक्ति हुन् । उनीहरू जस्तै मतदाता नामावली भएका अपाङगता व्यक्तिहरू धेरै छन् । तर आसन्न मङ्सिर ४ गते हुने प्रतिनिधि र प्रदेश सभाको निर्वाचनका लागि अपाङ्गमैत्री मतदान स्थल छैनन् ।
यस्तै चन्दननाथ नगरपालिका–७ खलाचौरका हरिचन्द्र रावल पनि ह्वीलचियर आवतजावत गर्ने अपाङ्गता भएका व्यक्ति हुन् । यस्तै मतदाता नामावली भएका करिब ३ हजार अपाङ्गता भएका व्यक्तिहरू छन् । उनीहरूलाई मताधिकारको अधिकार छ । तर उनीहरूलाई सहज रुपमा मतदान गर्नका लागि अपाङ्गमैत्री मतदान स्थल छैनन् ।
अपाङ्गता भएका व्यक्तिलाई सहज रुपमा मतदान गर्नका लागि अपाङ्गमैत्री मतदानस्थल हुनुपर्ने सरकारको नीति नियम छ । निर्वाचन सम्पन्न गर्ने जिम्मेवारी प्राप्त गरेका सरकारी निकायले अपाङ्गमैत्री मतदानस्थल बनाउन प्रयास गरेको अपाङ्गता भएका व्यक्ति सूर्य अधिकारीले गुनासो गर्नुभयो ।
कर्णाली प्रदेशको हिमाली जिल्ला जुम्ला भौगोलिक रुपमा विकट भएपनि समथर भएका स्थानमा अपाङ्गमैत्री मतदानस्थल बनाउन सकिन्थ्यो तर राज्यका सरोकारवाला निकायको इच्छा शक्ति नभएको अपाङ्ग पुर्नस्थापना तथा विकास केन्द्र जुम्लाका अध्यक्ष रामकृष्ण न्यौपानले बताउनु भयो । उहाँले भन्नु भयो यो विषयमा हाम्रो घोर आपत्ति छ । हामी राज्यको ध्यानाकर्षण गराउदछौँ ।
जिल्ला निर्वाचन कार्यालय जुम्लाका सूचना अधिकारी अभिनन्द चौलागाईका अनुसार जुम्लामा ८३ मतदानस्थल र १ सय ६ मतदान केन्द्र छन् । सबै मतदानस्थल अपाङ्गमैत्री नभएको उहाँले बताउनु भयो । उहाँले भन्नु भयो भौगोलिक रुपमा नै कठिन भएकाले अपाङ्गमैत्री मतदानस्थल नभएका हुन् ।