मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारीका कार्यकर्ता निर्वाचन विरोधी गतिविधिमा संलग्न रहेको आरोपमा प्रहरीले सो पार्र्टीका ६ जना कार्यकर्ताहरुलाई दोधरा चाँदनी नगरपालिका– ७ बाबाथानबाट कात्तिक २६ गते गिरफ्तार गरेको छ ।
गिरफ्तार हुनेमा भिमदत्तनगरपालिका–२ उल्टाखाम निवासी युवा संगठनका सदस्य २४ वर्षीय सुरज मल्ल, भिमदत्तनगरपालिका–६ ऐठपुरका २४ वर्षीय दिपेन्द्र ऐरी, भिमदत्त नगरपालिका–१ चम्फापुर निवासी नेकपा क्रान्तिकारीका केन्द्रीय सदस्य ४० वर्षीय हरिष सुवेदी , भिमदत्त नगरपालिका–५ धर्मपुर निवासी देशभक्त जनगणतान्त्रिक मोर्चा प्रदेश अध्यक्ष ५० वर्षीय विष्णु दमाई, भिमदत्त नगरपालिका–१० चत्थरका ५६ वर्षीय जयबहादुर रोकाया, भिमदत्त नगरपालिका–६ मुसेपानीका ४९ वर्षीय दिलबहादुर विक रहनु भएको छ ।
मङ्सिर ४ गते हुन गइरहेको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनलाई बहिष्कार गरौँ, मतियारहरुलाई मतदान नगरौँ भनेर लेखेका पोष्टरहरु ठाँउठाँउमा टाँसी निर्वाचन विरोधी कार्य गरिरहेको अवस्थामा मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारीका ६ जना कार्यकतालाई गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी चक्रबहादुर शाहले बताउनु भयो ।
गिरफ्तार गरिएका सबै जनालाई जिल्ला प्रहरी कार्यालयमा राखेर अनुसन्धान भइरहेको र निर्वाचन विरोधी गतिविधि बढीरहेकाले सुरक्षा व्यवस्था कडा पारिएको डिएसपी शाहले बताउनु भयो ।