धनुषा निर्वाचन क्षेत्र नं. ३ एमालेका प्रतिनिधी सभाका उम्मेदवार जुली महतोले निर्वाचन आचारसंहिता विपरित कात्तिक २१ गते हजारौं जनालाई मासु भात भोज खुवाएका छन् ।
निर्वाचन आचारसंहिता विपरित जनकपुरधाम उपमहानगरपालिका–१८ देवपुरामा मतदातालाई प्रभावित गर्ने भोजको आयोजना गरेको देखिएको छ । नेकपा एमाले–जसपाका साझा उम्मेदवार रहेकी महतो जटही–जनकपुरधाम ६ लेन सडक खण्ड अन्तर्गत सडकमै भोजको आयोजना गरेको हो ।

भोजका लागि सडककै छेउमा पण्डाल पनि सजाइएको थियो । पण्डालमा महतो र प्रदेश सभा सदस्यका उम्मेदवार जितेन्द्र यादवको ब्यानर पनि लगाइएको थियो । महतो र यादव चढ्ने सवारीसहित कयौं सवारी त्यही पार्किङ गरिएको थियो । सवारी र पण्डालमा एमाले–जसपाको झण्डा र चुनाव चिह्न अंकित सामग्रीहरू पनि राखिएको थियो ।
स्थानीयहरूले खाना खाएपछि महतोले उनीहरूसँग आफूलाई मत दिन अनुरोध गरेकी थिइन् । उनले मुस्लिम टोलमा घर दैलो कार्यक्रम पनि गरेकी थिइन् । स्थानीयको अनुसार मासुको भोज गरिएको थियो ।
यद्यपि सचेत गराएर सवारीहरू छोडिएको छ । यस विषयमा मुख्य निर्वाचन अधिकृत श्रीधर पन्थीले प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलसँग छलफल गरी अन्य प्रकृया अगाडि बढाइने बताउनु भयो । मतदातालाई प्रलोभनमा पार्ने हिसाबले कुनै पनि गतिविधि उम्मेदवारले गर्न नपाउने बताउँदै उहाँले कारवाही प्रक्रिया अगाडि बढाउने बताउनु भयो ।