अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) का पूर्व महासचिव डा. कुन्दन अर्याल, इन्सेक कर्णाली प्रदेशका संयोजक नारायण सुवेदी, परियोजना संयोजक किरण पौडेलसहितको अधिकारकर्मीको टोलीले जाजरकोट जिल्लामा निर्वाचन पूर्वको अवस्था सम्बन्धमा अनुगमन गरेको छ ।
अनुगमन टोलीले कात्तिक २४ र २५ गते आचारसंहिताको पालना भए नभएको, जिल्लामा शान्ति सुरक्षाको अवस्था, मतदाता शिक्षाको प्रभावकारिता लगायत निर्वाचन पूर्वको अवस्थाका विषयमा सरोकारवाला निकायसँग भेट गरी छलफल गरेको छ ।
अनुगमन टोलीले मुख्य निर्वाचन अधिकृत केशवराज चपाई, प्रमुख जिल्ला अधिकारी अन्जन न्यौपाने, डिएसपी सन्तोष निरौला र निमित्त जिल्ला निर्वाचन अधिकारी नविन कठायतसँग जिल्लामा निर्वाचनको अवस्था, आचारसंहिता पालन भएनभएको र सुरक्षा अवस्थाका बिषयमा छलफल गरेको थियो ।
छलफलका क्रममा सामाजिक सञ्जालमार्फत आचारसंहिता उल्लङ्घन गर्ने ६ जनालाई स्पष्टीकरण सोधिएको मुख्य निर्वाचन अधिकृत चपाईले जानकारी दिनु भएको छ । सामाजिक सञ्जालबाट आचारसंहिता उल्लङ्घन गर्नेमा बढी शिक्षक भएको उहाँले बताउनु भयो ।
पहाडी जिल्लामा निर्वाचनको मुख्य समस्या जसको पहुँच छ उसले नटर्ने र कमजोर पक्ष खुम्चने रहेको मुख्य निर्वाचन अधिकृत चपाईले बताउनु भयो । यसैगरी भूगोल, बाटोको अवस्था र जान आउनको पहुँच लगायतका आधारमा जिल्लामा १८ ओटा मतदानस्थल अतिसंवेदनशिल, ५३ ओटा संवेदनशिल र १७ वटा सामान्य रहेको प्रमुख जिल्ला अधिकारी अन्जन न्यौपानेले जानकारी दिनु भएको छ ।
अतिसंवेदनशिल मतदानस्थलमा पूर्णरुपमा सुरक्षा व्यवस्था मिलाइएको र अन्य मतदानस्थलमा समेत सुरक्षा व्यवस्था मिलाइएको प्रजिअ न्यौपानेले बताउनु भयो ।
गलत प्रवृति हावी हुने स्थान र अति संवेदनशील मतदानस्थलमा पर्यवेक्षण गर्ने संस्थाले अनुगमन गर्नु पर्नेमा प्रजिअ न्यौपानेले इन्सेकलाई सुझाव दिनु भएको थियो ।
राजनीतिक दलहरूले सार्वजनिक स्थान, व्यक्तिगत घरमा उम्मेदवार, पार्टीको चुनाव चिन्ह अंकित पोष्टर र पम्पलेट टासेको अनुगमनका क्रममा पाइएको थियो ।
संचारकर्मी र अधिकारकर्मीसँग छलफल
अनुगमन टोलीले जिल्लास्थित नागरिक समाजका प्रतिनिधि र पत्रकारसँग कात्तिक २५ गते अन्तरक्रिया गरेको छ ।
अन्तरक्रियामा दलहरूको विगतको कामकारवाहीका कारण जनता निराश भएकाले निर्वाचनप्रति जनताको विगतको जस्तो चासो नदेखिएको बरु यो समयमा कतिपय मतदाता कमाई गर्न भन्दै विदेशिने गरेको पाइएको नागरिक समाजका अगुवा राजेन्द्रविक्रम शाहले बताउनु भयो । त्यसै गरी नेपाल पत्रकार महासङ्घका अध्यक्ष बालकुमार शर्माले निर्वाचनको विषयमा स्थानीय प्रशासन, जिल्ला निर्वाचन कार्यालय लगायतका निकायबाट समन्वय नगरेको र सूचना दिन आनकान गरेको बताउनु भयो ।
संचारकर्मीसँगको छलफल कार्यक्रममा इन्सेकका पूर्व महासचिव डा कुन्दन अर्यालले उम्मेदवारबीचको प्रतिस्पर्धा सहि रुपमा गराउने भूमिका संचारकर्मी र पर्यवेक्षकको हुनु पर्नेमा जोड दिनु भयो ।
पत्रकारहरु अबका दिन व्यवसायिक हुन आवश्यक रहेको बताउँदै समन्वय र एकता हुनुपर्नेमा जोड दिनु भयो ।
इन्सेकका कर्णाली प्रदेश संयोजक नारायण सुवेदीले निर्वाचनका कमी कमजोर पत्ता लगाई आगामी दिनमा निर्वाचन प्रणालीलाई सुधार गर्नका लागि इन्सेकले आम निर्वाचन २०४८ देखि पर्यवेक्षणगर्दै आएको बताउनु भयो ।
