INSEC Online

📅 २०८३ जेष्ठ २१

आचारसंहिता विपरीत कार्य गरेको आरोपमा जनप्रतिनिधिलाई आयोगले सोध्यो स्पष्टिकरण

निर्वाचन आचारसंहिता विपरीत चुनाव प्रचारप्रसारमा संलग्न रहेको मौखिक सूचना आयोगमा गएपछि जिल्लाका स्थानीय तहका बहालवाला जनप्रतिनिधिलाई निर्वाचन आयोगले ०७९ कात्तिक २१ गते स्पष्टिकरण सोधेको छ ।

जिल्लाका दुई नगरपालिका र दुई गाउँपालिकाका प्रमुख– उपप्रमुख लगायत वडाअध्यक्ष र सदस्यहरू आफ्नो आस्था रहेको पार्टीका उम्मेदवारको पक्षमा मतमाग्न थालेको गुनासो आयोगमा आएपछि स्पष्टिकरण सोधिएको डोल्पाका मुख्य निर्वाचन अधिकृत बाबुराम सुवेदीले बताउनु भएको छ ।

त्रिपुरासुन्दरी नगरपालिकाका प्रमुख जनचन्द्र रोकाया, उपप्रमुख देवी घर्ती, ठूलीभेरी नगरपालिकाका प्रमुख सुवर्णबहादुर बुढा, सोही पालिकाका उपप्रमुख डोल्मा छिरिंग महत, जगदुल्ला गाउँपालिकाका अध्यक्ष नारासिं रोकाया, मुड्केचुला गाउँपालिकाका अध्यक्ष दत्तबहादुर शाही लगायतका स्थानीय तहका वडाअध्यक्ष र सदस्यहरूले आचारसंहिता विपरीत कार्य गरेको गुनासो आएपछि पहिलोपटक स्पष्टिकरण सोधिएको आयोगले जनाएको छ ।

मुख्य निर्वाचन अधिकृत बाबुराम सुवेदीले स्थानीय तहमा बहालवाला कुनै पनि पदाधिकारीले दलगत स्वार्थमा लागेर चुनाव प्रचारप्रसार गरेमा आचारसंहिता विपरीत हुने र त्यस्तो कार्यमा संलग्न रहेको पाइएमा वा उजुरी परेमा पदमुक्त हुने सम्मको कारवाही हुने जानकारी दिनु भएको छ ।

निर्वाचन आचारसंहिता सम्बन्धी कानुन थाहा नपाएर बहालवाला जनप्रतिनिधि प्रचारमा लागेको मौखिक गुनासो मात्र आएको र लिखित उजुरी नआएकाले पहिलो पटक सामान्य सोधपुछ गरी आचारसंहिताको पूर्ण पालना गर्न निर्देशन गरिएको आयोगले जनाएको छ ।

अन्य

भिडियो