INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार आरोपित शिवराज श्रेष्ठ र बच्चाको डिएनए म्याच

क्षिरेश्वरनाथ नगरपालिका–५ बस्ने २४ वर्षीय बलात्कार आरोपित शिवराज श्रेष्ठको डिएनए परीक्षण म्याच भएको छ । बलात्कार पीडित २० वर्षीया सोनाली सिंह (निहारिका) ले जन्माएको बच्चा र आरोपित श्रेष्ठको डिएनए परीक्षण गराउँदा म्याच भएको हो ।

विधि विज्ञान प्रयोगशाला काठमाडौँले कात्तिक १८ गते उच्च अदालत जनकपुरलाई पठाएको डिएनए रिपोर्टमा बच्चा र शिवराजको डिएनए ९९.९९९ प्रतिशत मिलेको रिपोर्ट आएको बलात्कार पीडित सोनाली सिंहको वकिल रिंकु यादवले बताउनु भयो ।

जिल्ला प्रहरी, सरकारी, वकिल हुँदै उच्च अदालतमा डिएनए परीक्षणको रिपोर्ट आएको हो । आरोपित शिवराजको कात्तिक २५ गते तारेख छ । चुनावपछि यो मुद्दाको पेशी चढ्ने उच्च अदालत जनकपुरका रजिष्टार खड्गराज अधिकारीले जानकारी दिनु भयो ।

शिवराजले नशालु पदार्थ खुवाएर बलात्कार गर्दा बसेको गर्भबाट सोनालीले बच्चा पाएको आरोप छ । आरोपित शिवराज श्रेष्ठ बच्चा आफ्नो नभएको दावी गर्दै आएको थियो ।

जिल्ला अदालत धनुषाका न्यायाधिश परशुराम भट्टराइले ०७८ माघ २४ गते आरोपित श्रेष्ठलाई सफाइ दिएको थियो । जिल्ला अदालतको निर्णयविरुद्ध पुरावेदन गर्दै उच्च अदालत जनकपुरमा पीडितले ०७८ फागुनमा उजुरी दिएको छ ।

उच्च अदालत जनकपुरका न्यायाधीशद्वय भोजराज अधिकारी र रेखा थापा पाण्डेको संयुक्त इजलासले गएको भदौ ८ गते दुबै जनाको डिएनए परीक्षण गर्न आदेश दिएको थियो ।

उच्च सरकारी वकिल कार्यालय जनकपुर मार्फत निहारिकाको रोहबरमा विधि विज्ञान प्रयोगशाला काठमाडौँमा डिएनए परीक्षण गरिएको थियो ।

उच्च अदालतले लामो समय पेशी नतोकेको र डिएनए परीक्षणको आदेश नदिएको भन्दै पीडित सोनाली सिंह दुई पटक आमरण अनसनमा बसेकी थिइन् । अनसनकै क्रममा निहारिकाले राष्ट्रपति भवन अगाडि आत्मदाह गर्ने प्रयास गरेपछि फास्ट ट्रयाकमा मुद्दाको सुनुवाइ अघि बढाइएको हो ।

अन्य

भिडियो