INSEC Online

📅 २०८३ जेष्ठ २१

निर्वाचन आचारसंहिता विपरित उम्मेदवार घरदैलो गर्दै 

आगामी मङ्सिर ४ गते हुने प्रतिनिधी सभा र प्रदेश सभा निर्वाचनलाई लक्षित गर्दै धनुषाका उम्मेदवारहरुले निर्वाचन आचारसंहिता विपरित चुनावी गतिविधि गरिरहेका छन् ।

धनुषा निर्वाचन क्षेत्र नं. ३ बाट नेकपा एमालेका प्रतिनिधी सभाका उम्मेदवार जुली महतो र प्रदेश सभा सदस्यका उम्मेदवार दिपेन्द्र ठाकुर, जसपाका उम्मेदवार जितेन्द्र कुमार यादव, धनुषा निर्वाचन क्षेत्र नं. ४ प्रदेश सभा (क) का नेपाली काँग्रेसका उम्मेदवार शेषनारायण यादव, जसपाका उम्मेदवार ज्ञानेन्द्र यादवले निर्वाचन आचार संहिता विपरित घरदैलो कार्यक्रम गरिरहेका छन् ।

मतदाताहरुको घर घरमा सयौंको सङ्ख्यामा नेता, कार्यकता, पार्टीको झण्डा र ब्यानरसहित घरदैलो गर्दै भोजभतेर समेत गरिरहेका छन् ।

नेकपा एमालेकी उम्मेदवार जुली महतोले निर्वाचन चिन्हसहित आफ्नो तस्वीरसहितको फ्लेक्स अटो रिक्सा, गाडीको पछाडि राखेर प्रचार प्रसार गरिरहेका छन् । जुली महतोले गरेको कार्य निर्वाचन प्रचारप्रसार कार्य निर्वाचन आचारसंहिताको उल्लेखित दफा १३ को उपदफा (१) को खण्ड (ड) को प्रतिकुल रहेको निर्वाचन आयोगको ठहर गर्दै कात्तिक १० गते स्पष्टिकरण समेत सोधिएको छ ।

नेपाली काँग्रेसका प्रदेश सभा सदस्यका उम्मेदवार शेषनारायण यादवले सयौं नेता, कार्यकताका साथ चुनाव चिन्ह लिएर मतदाताहरुको घर घरमा पुगेर मत माग्दै गरेका छन् ।

मतदाता रिझाउन साडी वितरण 

धनुषा जिल्लाको निर्वाचन क्षेत्र नम्बर ४ मा नेकपा एमालेका प्रतिनिधि सभा सदस्यका उम्मेदवार रघुबीर महासेठले महिलालाई साडी वितरण गर्न थालेका छन् । महिला मतदाताहरुलाई रिझाउन महासेठले साडी वितरण गरेको आरोप लागेको छ ।

निर्वाचन क्षेत्र नम्बर ४ को ‘क’ मा पर्ने जनकपुरधाम उपमहानगरपालिकाको वडा नम्बर १९ को जमुनिया टोलमा कात्तिक १५ गते प्रतिनिधि सभा सदस्यका उम्मेदवार महासेठले साडी वितरण गरेका हुन् ।

घरदैलो तथा पार्टी प्रवेश कार्यक्रमको नाम दिएपनि उम्मेदवारले महिलाहरुलाई साडी बितरण गरेको तस्बीर सार्वजनिक भएको छ ।

महासेठको प्रचार अभियानमा रहेका गाडीमा साडी लगायतका सामग्रीहरु राख्ने गरिएको छ । निर्वाचन आयोगले जारी गरेको आचारसंहिता र निर्देशिका विपरित महासेठले २० जना महिलालाई साडी वितरण गरेको बताइएको छ ।

नेकपा एमालेबाट प्रदेश सभा क्षेत्र नं. ४ (क) का उम्मेदवार संतोष यादवले आफुहरुले साडी वितरण नगरेको दावी गरेका छन् । सहीद परिवारलाई साडी दिएर सम्मान गरेको उहाँले बताउनु भयो । तर, यसबारे सहीद परिवारबारे थप स्पष्ट गर्न चाहेनन् । महासेठले साडी वितरण गरेको तस्बीर सामाजिक सञ्जालमा सार्वजनिक भएको छ ।

निर्वाचन आयोगले यस विषयमा अनभिज्ञता प्रकट गरेकोछ । यस विषयमा बुझेर अन्य प्रकृया अगाडि बढाइने निर्वाचन अचारसंहिता अनुगमन अधिकारी डा. वीरेन्द्र मिश्रले बताए ।

अन्य

भिडियो